आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको प्रतिक्षीत सिनेमा ‘प्रेमगीत ३’ को गीत सार्वजनिक भएको छ । हिन्दी भर्सनको ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा भारतकी चर्चित पार्श्व गायिका पलक मुच्छल र अंकित तिवारीको स्वर रहेको छ भने कुमारको शब्द रचना र असलम केयीको संगीत छ । गीतको अडियो बलियो छ ।
त्यस्तै, सिनेमामा समावेश नेपाली भर्सनको ‘हर युग होस्’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर, राजेश श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । हिन्दी र नेपाली दुवै गीतको भिडियोमा दृश्यहरु एउटै छन् । अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ रोमान्टिक भावमा प्रस्तुत गीतको भिडियोमा हिउँले सेताम्मे हिमालको दृश्य र राजेश श्रेष्ठको छायांकन गजब छ ।
‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुन लागेको हो । यसअघि हिन्दीमा डब भएर नेपाली सिनेमा भारतमा प्रदर्शन भएका थिएनन् । वितरक कम्पनीका अनुसार, सिनेमा भारतमा १५ सय हलमा प्रदर्शन हुनेछ । यतिबेला सिनेमाको टिमले भारतका विभिन्न ठाउँमा पुगेर प्रचार गरिरहेको छ । सिनेमाको यसअघि हिन्दी र नेपाली दुवै भर्सनमा टिजर र ट्रेलर रिलिज भइसकेको छ ।
स्वं. छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको सिनेमामा प्रदीप र क्रिस्टिनाका अलावा शिव श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतको अभिनय रहेको छ । सिनेमालाई राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले मिलेर खिचेका हुन् ।