The Cinemax Hub

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’ आगामी कत्तिक ४ गतेबाट तिहारको अवसरमा रिलिज हुँदै

Facebook
Twitter
WhatsApp

दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’ आगामी कत्तिक ४ गतेबाट तिहारको अवसरमा रिलिज हुँदैछ । कमेडी जनरामा निर्माण भएको सिनेमा नेपालमा निर्माण भैरहेकका अन्य ककमेडी सिनेमा भन्दा भिन्नता रहेको निर्देशक खनाल दाबी गर्छन् । सिनेमाले कमेडीसँगै समाजिक कथावस्तु पनि उठान गरेको निर्देशक खनालको भनाई छ ।

राजधानीमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा पत्रकार निर्देशक खनाललाई प्रदीप रिमाल निर्देशित के घर के डेरा भन्दा यो सिनेमा कति भिन्न छ ? भनेर प्रश्न गरेका थिए । जवाफमा निर्देशक खनालले पहिलो ‘के घर के डेरा’मा प्रेम पक्ष केन्द्रमा थियो । दोस्रो ‘के घर के डेरा’ले घर हुने वा नहुनेको परिस्थिति चित्रण गर्ने बताए ।

समाज र मान्छेको जीवनसँग सिनेमा निर्माण गर्न माहिर दीपेन्द्र के खनाल निर्देशित सिनेमाले सहरका मध्यमवर्गको ‘घर बनाउने’ सपनाको कथा पेस गर्छ । जसरी सहर अनेक सपना र मान्छेको कोलाज हो, उसैगरी निर्देशक खनालले सिनेमामा अनेक चरित्रको कथा बुनेका छन् । इमान्दार कमाइ गर्ने मान्छे, उसकी पत्नी, डन, कर्मचारी, पुलिस, व्यापारीजस्ता चरित्रको समिश्रण हो के घर के डेरा ।

निर्देशक खनालले घर र डेराको दूरीलाई सिनेमाले चित्रण गर्ने बताउँछन् । सिनेमा व्यवसायिक रुपमा सफल हुने आशावादी खनालले सिनेमाले तिहारमा ‘फेस्टिभल मुड’ तयार गर्ने दावी गरे । ‘यो सिनेमाको मुख्य कथावस्तु नै घर हो । घर मान्छेको सपना हो । घर र डेराबीचको दूरी नै सिनेमा हो,’ निर्देशक खनालले भने, ‘यति मात्र होइन, तिहारको मुड पनि यसले सिर्जना गर्छ ।’

अहिलेको समयमा मानिसहरु अध्यात्मभन्दा भौतिक कुरा हासिल गर्ने होडमा लागेको भन्दै मानवीय प्रवृत्तिको यो पक्षलाई सिनेमाले व्यंग्य गर्ने उनले बताए । ‘साथै दर्शकहरु हाँस्न चाहन्छन्,’ दीपेन्द्रले भने । मल्टिस्टारर सिनेमामा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको प्रमुख भूमिका छ । ‘दुई नम्बरी’ रिलिजको दुई साताकै अन्तरालम अभिनेता दयाहाङ राई ‘के घर के डेरा’मार्फत दर्शकमाझ आउँदैछन् ।

यसबारे सोधिएको जिज्ञासामा दयाहाङले दुवै सिनेमामा आफूले गरेको चरित्रको मनोविज्ञान र द्वन्द्व भिन्न हुने भएकाले दर्शकले भिन्न महसुस गर्ने बताए । ‘दुई नम्बरी’मा सिकारीको भूमिकामा देखिएका राई के घर के डेरामा एक मध्यमवर्गीय पुरुषको भूमिका निवार्ह गरेका छन् । ‘के घर के डेरा’ हिट भए यस वर्ष बक्स अफिसमा दयाहाङको ह्याट्रिक हुनेछ ।

अभिनेता विपिन कार्कीले ‘पशुपतिप्रसाद’को भष्मे डनको इमेजलाई यस सिनेमाको शंखे दादाले मेटाइदिने बताए । क्यामेरा अफ भएपछि पनि एक्टिङलाई कन्टिन्युटी दिने र नर्मल अवस्थामा फर्किन मुस्किल पर्ने गरेको अनुभव विपिनले पत्रकार भेटघाट कार्यक्रममा सुनाए । ‘सबै मान्छेको अभिनयको आफ्नो शैली हुन्छ,’ उनले भने ।

इन्जिनियरकी विद्यार्थी समेत रहेकी अभिनेत्री सुरक्षा पन्तले व्यावसायिक रुपमा पनि घरसँग आफ्नो लगाव रहेको बताइन् । ‘वास्तवमा भावनात्मक रुपमा महिलाहरुले घर चाहन्छन् । व्यक्तिगत रुपमा पनि म घर बनाउन चाहन्छु,’ उनी भन्छिन् । निर्देशक खनालसँग काम गर्दा आफूलाई सजिलो हुने भन्दै सुरक्षा उनको काम गर्ने शैलीबाट आफू प्रभावित भएको समेत बताइन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /