प्रदर्शनरत सिनेमा ‘परदेशी २’ ले जाजरकोट भूकम्प पीडितलाई राहतका लागि ५१ हजार रुपैयाँ प्रदान गर्ने भएको छ । निर्देशक तथा निर्माता नारायण रायमाझीले प्रधानमन्त्री राहत कोषमा यो रकम जम्मा हुने बताए ।
भूकम्पको असहज परिस्थितिको कारण कतिपय विशेष शो स्थगित गरिएको बताउँदै रायमाझीले अनाथ आश्रमका बालबालिका र वृद्धवृद्धाको लागि च्यारिटी शो गर्न लागिएको बताए । हलमा सिनेमाले राम्रो कमाई गरिरहेको छ ।
उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित सिनेमामा प्रकाश सपुत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला र देवेन्द्र बब्लुलगायतका कलाकारको अभिनय छ ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमामा अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, दीर्घ खड्काको सम्पादन, मानकृष्ण महर्जनको छायांकन, राजेन्द्र मोक्तानको कलर, रमेश बिजीको कथा र पटकथा छ । सिनेमाका निर्माता नारायण रायमाझी र राजेश वंशल हुन् ।