The Cinemax Hub

‘परदेशी २’ले मनायो ५१ औं दिन

Facebook
Twitter
WhatsApp

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ ।

असोजको २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले शनिवार राजधानी र मोफसलका केही हलमा यो सफलता प्राप्त गरेको हो । चलचित्रले ५१ दिन पूरा गरेको अवसरमा निर्माण पक्षले केक काटेर खुशीयाली साटेको छ । शनिवार बेलुका आयोजित सेलिब्रेसन कार्यक्रममा अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, निर्माता राजेश वंशलसहित चलचित्रको उपस्थित टिमले केक काटेर खुशी साटेका हुन् ।

सो अवसरमा बोल्दै अभिनेता सपूतले पहिलो चलचित्रले नै ५१ दिन मनाउनु आफ्नो लागि अविश्वनीय सफलता रहेको बताए । ‘बच्चैदेखि चलचित्र खेल्ने सपना देखेको थिएँ । त्यो सपना पूरा भयो र त्यसले सफलताको इतिहास पनि लेख्यो’ उनले भने, ‘यो मेरो लागि अविश्वनीय सफलता हो । दर्शकबाट पाएको अपार प्रेमको हद हो । सबैप्रति कृतज्ञ छु ।’

अभिनेत्री अधिकारीले ५१ दिनको सेलिब्रेसनको पल आफ्नो लागि पहिलो रहेको बताइन् । ‘लगभग ३३ चलचित्रमा कलाकार भएर अभिनय गर्ने मौका पाउँदा, १३ वर्षको करिअर ग्राफमा यो मोमेन्ट पहिलोपटक अनुभव गर्ने मौका पाएकी छु’ उनले भनिन् ‘उसो त योभन्दा अगाडि ‘छ माया छपक्क’ै पनि ५१ दिन पूरा गरेको चलचित्र हो । तर, यसरी सेलिब्रेट गर्ने मौका पाएका थिएनौं । त्यसैले यो मोमेन्ट मेरो लागि धेरै महत्वपूर्ण छ ।’

निर्माता वंशलले चलचित्रकर्मी र चलचित्रका लागि दर्शक सबैभन्दा ठूलो पक्ष रहेको बताउँदै चलचित्र निर्माणदेखि प्रदर्शनसम्म आउँदा जोडिने सम्पूर्ण व्यक्तिलाई उनले धन्यवाद दिए ।

राजधानीसहित मोसफलका केही हलमा चलचित्र प्रदर्शन भइरहेको बताउँदै विश्वका धेरै देशहरुमा प्रदर्शन सुरु भइसकेको उनले जानकारी दिए ।

वितरक एफडी कम्पनीका छवीराज ओझाले पछिल्लो समय चलचित्रलाई हलमा एकसाता पनि टिक्न मुस्किल भइरहेको समयमा ‘परदेशी २’को यो सफलता आफैमा ठूलो रहेको बताए ।

गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालले ‘परदेशी २’ले आफूहरुको हलमा दर्शकको उत्साहपूर्ण साथसहित ५१ दिन पूरा गरेकोमा खुशी व्यक्त गर्दै निर्माण टिमलाई बधाई दिए । चलचित्रका निर्देशक रायमाझी भने विदेश प्रदर्शनका लागि अमेरिकामा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । अभिनेत्री वर्षा शिवाकोटी काठमाडौं बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिइयो ।

यो चलचित्रले नेपालमा ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ । युवापुस्तामा रहेको विदेश मोह, त्यसले परिवार र समाजमा पारेको प्रभावको कथामा बनेको चलचित्रलाई रमेश बिजीले लेखेका हुन् ।

चलचित्रमा प्रकाश, केकी र वर्षासँगै प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको समेत शीर्ष भूमिका छ । सुदिप कुवँर मुख्य सहायक निर्देशक रहेको चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी र अष्ट महर्जनको द्धन्द्ध छ । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । राजेन्द्र मोक्तानको कलर, दिनेश विष्ट र मनोज श्रेष्ठको भिएफएक्स, श्यामश्वेत रसाइलीको साउण्ड डिजाइन रहेको चलचित्रको पब्लिसिटी डिजाइन मिराज अर्यालले गरेका थिए ।

Cinemax Hub

/ सम्बन्धित समाचार /