The Cinemax Hub

फिल्म ‘वर एण्ड बधु’मा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको एक्सनका दृश्य खिचिएको छ

Facebook
Twitter
WhatsApp

छायांकन भइरहेको फिल्म ‘वर एण्ड बधु’मा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको एक्सनका दृश्य खिचिएको छ ।

बिहिबार मुलपानी क्रिकेट ग्राउण्डको अपोजिटमा रहेको रोएल प्यालेसमा विवेक र आँचल केही खलपात्रहरुसँग लड्दै गरेको अवस्थामा भेटिए ।

विवेकसँग फाइट गरेपछि खलपात्रहरु आँचलमाथि जाइलागे । तर, आँचल शर्मा पनि कम देखिइनन् । उनले पनि केही भिलेनहरुसँग जमेरै फाइट गरिन् ।

एक्सनको दृश्यको कोरियोग्राफी गरिरहेका निर्देशक हिमाल केसी र छायांकार सुदिप बराल आँचल र विवेकको प्रशंसा गरेर थाकेनन् । हिमालले भने–‘आँचल शर्माको काम गर्ने शैली गज्जब लाग्यो ।

एक्सनमा उनले जुन तरिकाले काम गरिन्, त्यसबाट के पुष्टि हुन्छ भने उनी सोलो एक्सन फिल्ममा पनि काम गर्न तयार छिन् । विवेकले गरेको एक्सन देखेर दर्शकहरु दंग पर्नुहुनेछ । उनी कही कतैबाट पनि नयाँ देखिदैनन् ।’

नायिका आँचल शर्माले आफूलाई जुन तरिकाको एक्सन गर्न मन लागेको थियो त्यस्तै काम गर्न पाएको बताइन् । ‘मलाई पहिले नै एक्सनका लागि तयार भएर एक्सन गरे जस्तो भूमिका गर्न मन थिएन । ५ इन्चको हिल जुत्ता, फेन्सी पहिरन लगाएर म एक्सन गरिरहेकी छु । म भित्र एक्सनका लागि इनर्जी उस्तै छ । रमाइलो भइरहेको छ ।’ आँचलले भनिन् ।

यता, नायक विवेक कर्माचार्य पनि काम निकै राम्रो भएको भन्दै दंग देखिए । उनले, फिल्मका लागि प्याक्स समेत बनाएका छन् । यसका लागि उनले नुन छाडेको चार साता भयो । दिनमा एक लिटर मात्र पानी पिएका छन् । चिनी र तेल छोएकै छैनन् । विवेक फिल्मबाट निकै आशावादी सुनिए ।

रोमानियामा पहिलो चरणको छायांकन सकेर केही समय ब्रेक गरेपछि निर्देशक मिलन चाम्सले दोस्रो चरणको छायांकन गरिरहेका छन् । मिलनका अनुसार, अझै एक साता भन्दा बढी समय छायांकनका लागि लाग्ने बताए । दुई वटा गीतको छायांकन सकेपछि सम्पूर्ण छायांकन सकिने मिलनको भनाई छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार भइरहेको फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । छायांकन सकिएपछि फिल्मको प्रदर्शन मिति तोक्ने तयारी मिलनको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /