

काठमाडौं । निर्माता किरण नेपालीको प्रस्तुतिमा नयाँ फिल्म ‘कल्ली’ निर्माण हुने भएको छ । फिल्म ‘बुलाकी’ फेम्ड लक्ष्मण सुनारको कथा र निर्देशन रहने फिल्ममा नायक पल शाह र नायिका बेनिशा हमाल प्रमुख भूमिकामा छन् ।
निर्माण पक्षले मंगलबार फिल्मको तीन पोस्टर सार्वजनिक गरेको छ । तीन पोस्टरमध्ये एक पोस्टरमा पल र बेनिशा छन् भने बाँकी बाँकी एक–एक पोस्टरमा पल र बेनिशा एकल फिचर्ड छन् ।
पल र बेनिशा फिचर्ड एक पोस्टरमा पललाई रिसाहा लुक्समा देखाइएको छ । उनको अनुहारमा चोट देख्न सकिन्छ । उनको लुक्स हेर्दा कुनै द्वन्द्वपछिको रुप हो भन्ने अनुमान लगाउन सकिन्छ ।
बेनिशालाई भने देवीको रुपमा देखाइएको छ । दुवै हातमा आगोको मुस्लो बोकेकी बेनिशाको निधारमा चन्दन टिका लेपिएको छ । गलाको माला र बेनिशाको रुप हेर्दा उनी फिल्मको सशक्त पात्र हुन् भन्दा फरक नपर्ला ।

त्यस्तै पलको एकल पोस्टरमा उनलाई हातमा बन्दुक बोकेर आक्रोशित भावमा अगाडि हेरिरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा कुनै लडाईपछि आगलागी भइरहेको घर देखाइएको छ ।
बेनिशाको एकल पोस्टरमा भने कुनै युद्धबाट थकित भएकी युवतीको छनक दिने लुक्समा देखाइएको छ । उनको अनुहारको दाहिने भागमा रगतको बाछिट्टा छ भने दाहिने हातमा रगत लागेको छ । पृष्ठभूमिमा भने कालीदेवी देख्न सकिन्छ ।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको फिल्ममा महेश दवाडीको पटकथा र संवाद तथा सुरज आचार्य निर्माण प्रमुख छन् । आगामी तिहार पछि छायांकनमा जाने फिल्मको प्रदर्शन यसै वर्षको चैत्र २९ गते हुनेछ ।













