The Cinemax Hub

फिल्म ‘बुलाकी’ निर्माण टिम यतिबेला आक्रामक प्रचारमा

Facebook
Twitter
WhatsApp

काठमाडौं । यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ निर्माण टिम यतिबेला आक्रामक प्रचारमा जुटेको छ । मिडिया तथा सोसियल मिडियाबाट दर्शकलाई फिल्मको विषयवस्तु जानकारी गराउँदै हलमा तान्न प्रयत्नरत टिम यतिबेला सिधा दर्शकसँगै पुगेर साक्षात्कार गरिरहेको छ ।

नौलो र भिन्न प्रचार शैली पछ्याउँदै ‘बुलाकी’ युनिट यतिबेला राजधानीका विभिन्न स्थानमा पुगेर सडक नाटक, नृत्य तथा गायन प्रस्तुति दिईरहेको छ । जहाँ स्थानीय दर्शकले बलियो साथ दिएका छन् । फिल्मले उठान गरेको कथावस्तु र प्रदर्शन मिति जानकारी गराउँदै दर्शक आकर्षण गर्न टोल-टोलमा पुगेको निर्माता तथा कलाकार विराज विष्टले बताए ।

बिहिबार ललितपुरको लगनखेलमा फिल्म टिम पुगेर प्रस्तुति दिँदा सयौं दर्शकले साथ दिएका थिए । व्यवसायीक थिएटर कलाकार तथा मोडलहरूसँगै गायक गायिकासहित फिल्मको प्रचार अभियानलाई अघि बढाइएको छ । नारीप्रधान भनिएको फिल्मको कथावस्तुको परिधिमा रहेर जनचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको विष्टले बताए । शुक्रबारबाट अभिनेत्री सुरक्षा पन्त टिमसँग जोडिँदै छिन् ।

रिलिज मिति नजिकिँदै गर्दा खराब मौसमको बाबजुत फिल्म प्रचार अभियानलाई निरन्तर अघि बढाइरहेको निर्माण टिमले बताएको छ । यो क्रम फिल्म रिलिजको अघिल्लो दिनसम्म चल्ने र काठमाडौंका मात्रै (डेढ दर्जन) १८ ठाउँमा प्रस्तुति दिइने विष्ट बताउँछन् । ‘मुख्यतः मानिसहरूको बाक्लो भिडभाड हुने बसपार्क एरिया, विभिन्न पार्क, शान्तिवाटिका, भृकुटीमण्डप, विभिन्न सपिङ मल, खुल्ला मञ्च, बसन्तपुर, पाटन लगायतका ठाउँमा कलाकारसहित सिधा दर्शकसँग साक्षात गर्न पुग्न लागेको निर्देशक लक्ष्मण सुनारले बताए ।

पश्चिम नेपालमा विद्धमान जारी प्रथाको कथा उठान गरेको फिल्मलाई निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टले नेपाली मौलिक फिल्म भन्दै आएको छ । नेपाल सरकारबाट विशेष फिल्मको अवार्ड प्राप्त गरिसकेको यो फिल्मले समग्र नेपालको संस्कृति र रितिरिवाजको प्रतिनिधित्व गर्ने सुनार बताउँछन् । यो फिल्ममा अभिनेत्री सुरक्षा पन्तसँगै अभिनेताद्वय नरेन खड्का र विराज विष्ट र नव अभिनेत्री सरस्वती खत्री प्रमुख अभिनयमा छन् । साथमा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, विनयराज पौडेल लगायतका कलाकारलाई समेत फिल्मको अभिनयमा देख्न सकिनेछ ।

यसै साता सार्वजनिक फिल्मको दोस्रो ट्रेलर र त्यो पहिले सार्वजनिक गीतले पाएको सुखद प्रतिक्रियाले निर्माण टिम उत्साहित छ । हालै यो फिल्मको अष्ट्रेलिया, यूरोप र यूके प्रदर्शन अदिकार समेत बिक्री भइसकेको छ भने अन्य देशमा समेत फिल्मको प्रदर्शनको लागि कुरा अघि बढिरहेको बताइएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /