

काठमाडौं । नेपाली फिल्म ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ । आइतबारदेखि छायाङ्कन प्रारम्भ हुने यस फिल्मले नेपाली फिल्ममा नयाँ कथा र शैली पस्कने तयारी गरेको छ ।
मुहूर्त कार्यक्रममा फिल्मका प्रमुख कलाकार र टिमका सदस्यहरूको उपस्थिति रहेको थियो । अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतनलगायतका कलाकारहरूले पूजामा सरिक हुँदै फिल्मको सफलताका कामना गरे ।
निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा, र सङ्गीतकार राजनराज सिवाकोटी लगायतका टिमका मुख्य सदस्यहरूको पनि सहभागिता रह्यो । फिल्ममा कविता आले, सजन श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ ।

फिल्मका निर्देशक अरुण लामाले फिल्मको नामको गहिराइ र अर्थबारे व्याख्या गरे । उनले भने, ‘डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । यो फिल्मका पात्रहरू आ(आफ्ना तरिकाले बाँधिएका छन् । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले, र कोही मायाको डोरीले ।’
लामाका अनुसार, ‘डोरी’ले सामाजिक यथार्थ र समकालीन सन्दर्भलाई कथा मार्फत जीवन्त बनाउनेछ । ‘यस चलचित्रले दर्शकलाई आत्मसात् गराउनेछ, जहाँ उनीहरूले आफूलाई पात्रहरूमा देख्न सक्नेछन्,’ उनले थपे ।
फिल्मकी प्रमुख अभिनेत्री अञ्जना बराइलीले नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएकी छिन् । उनले भनिन्, ‘नयाँ प्रोजेक्टमा काम गर्न पाउँदा सधैँ रमाइलो लाग्छ । यो फिल्ममा नयाँ आइडिया छ र यसले दर्शकलाई नयाँ अनुभूति दिनेछ । मुहूर्तपछि ऊर्जा र उत्साहले भरिएकी छु, र यो चलचित्र सफल हुनेमा विश्वस्त छु ।’
अभिनेता प्रवीण खतिवडाले ‘डोरी’लाई विभिन्न श्रेणीको मिश्रण रहेको फिल्मका रूपमा परिभाषित गरे । ‘यस फिल्ममा रहस्यमय कथा, सामाजिक यथार्थवाद, र ‘सस्पेन्स क्राइम’को संयोजन गरिएको छ । यी तीन वटाको रोचक मिश्रणले दर्शकलाई मनोरञ्जन दिनेछ भन्ने विश्वास छ,’ उनले भने ।
फिल्मको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । यसमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ ।













