

काठमाडौं । नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली फिल्म ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर गरिएको छ । सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यस फिल्मको प्रिमियरमा दार्जिलिङका दर्शकहरूको प्रशंसा बटुल्न सफल रह्यो ।
ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा यस फिल्मको प्रिमियर शो आयोजना गरेको थियो । सो प्रिमियरमा फिल्म निर्माणमा उनीहरूको परिश्रम र समर्पणको कदर गर्दै कलाकार र चलचित्रका टिममा रहेका सदस्यलाई सम्मान गरिएको थियो । अन्य फिल्मको छायाङ्कनमा व्यस्त रहेका कारण प्रमुख अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित थिएनन् । अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतको प्रिमियरमा उपस्थिति रह्यो ।
‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरेको छ । फिल्मले सन १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई पर्दामा प्रस्तुत गरेको छ । फिल्मका मुख्य पात्र बम बहादुरको सङ्घर्षमय जीवनले चलचित्रलाई प्रभावकारी बनाएको प्रिमियरमा चलचित्र हेरेका दर्शकले बताए ।














