

काठमाडौं । निर्माता रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर’मा कलाकारको बलियो लाइनअप बनेको छ । हालसम्म फिल्ममा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् ।
निर्माता अधिकारीका अनुसार अन्य कलाकारहरु पनि फिल्ममा जोडिदैछन् । मिलन तामाङको डेब्यू निर्देशन रहने फिल्मले पारिवारिक सम्बन्ध र संवेदनाको कथा प्रस्तुत गर्नेछ ।
काठमाडौं, शैलुङ र काभ्रेमा छायांकन हुने फिल्मको छायांकन फागुन वा चैतबाट सुरु हुनेछ । निर्माता अधिकारीले फिल्म २०८२ को दशैंमा रिलिजको तयारी भइरहेको जानकारी दिए ।

फिल्ममा रविन शेरचन र धीरज तामाङ निर्माता, इश्वर श्रेष्ठ र चन्द्रकुमार दोङ सहायक निर्माता छन् । अधिकारीले यसअघि ‘गाजलु’, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’ निर्माण गरिसकेका छन् ।













