

काठमाडौं । गत दशैंमा रिलिज भएर राम्रो समिक्षा पाएको फिल्म ‘ज्वाइँ साब’का प्रस्तुतकर्ता राजकुमार पण्डितले नयाँ फिल्म ‘दशमी’ निर्माण गर्ने भएका छन् । फिल्मको शनिबार भक्तपुरको सुर्यविनायकस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पुजा गरिएको छ । फिल्ममा वसन्त निरौलाको निर्देशन रहनेछ ।
रेड आई फिल्म्स र रोमन फिल्म्सको प्रस्तुति रहने रहने फिल्ममा राजकुमार पण्डितको लगानी रहनेछ । फिल्मको लेखक दिलीप रानाभाट हुन् । फिल्मको निर्मातामा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य रहेका छन् ।
विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्मको प्रोडक्शन म्यानेजर दिलीप पन्त रहेका छन् । निर्देशक निरौलाले फिल्मको नाम घोषणा गरे पनि कलाकारको लाइनअप भने सार्वजनिक गरेका छैनन् । उनले फिल्म २०८२ को दसैँको फूलपातीका दिन रिलिज हुने बताएका छन् ।

यो फिल्ममा गत दसैँमा रिलिज भएको फिल्म ‘ज्वाइँ साब’को अधिकांश टिम छन् । निरौलाको निर्देशन रहेको ‘ज्वाइँ साब’ले राम्रो समीक्षा पाएको थियो ।














