The Cinemax Hub

कोशेढुंगा निर्देशनमा सरोज

Facebook
Twitter
WhatsApp

काठमाडौं । फिल्म ‘कोशेढुंगा’ निर्माणको घोषणा गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् ।

सरोज पौडेलले आफूले निर्देशन गर्ने फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन् । थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएकीछिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ ।

घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको अनुमान लगाउन सकिन्छ । डाँडामा उभिएर पहाडलाई हेर्दै गरेकी महिलाले पहाडी जीवन छोडेर सपना पछ्याउने हिँडेको अर्थ लगाउन सकिन्छ ।

यो पोस्टरले ‘कोसेढुंगा’ सोसल ड्रामा भएको प्रष्ट हुन्छ । अभाव, अग्लो सपना र संघर्षको कथा फिल्मले भन्ने संकेत गरेको छ ।

‘फिल्म कस्तो हुने, कथा के हो, कलाकार को–को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ,’ निर्देशक पौडेलले भने, ‘तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ ।’

फिल्म २०८२ मा रिलिज हुनेछ । नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

बाबु श्रेष्ठको डीओपी रहने फिल्म सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । फिल्ममा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /