The Cinemax Hub

वेब सिरिज ‘लट्ठक’का सबै एपिसोड सार्वजनिक, नेपाली ग्रामीण सिट्कममा नयाँ स्वाद

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन्। विश्व बजारमा लोकप्रिय सिट्कम कमेडी शैलीलाई नेपाली माटो सुहाउँदो रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको यस सिरिजले दर्शकलाई शुद्ध मनोरञ्जन प्रदान गर्नुका साथै समसामयिक सामाजिक विषयमाथि व्यङ्ग्यात्मक चेतना पनि दिन खोजेको छ।

सागर ज्ञवालीको परिकल्पना तथा निर्देशनमा बनेको ‘लट्ठक’ उनका लागि निर्देशन यात्राको महत्त्वपूर्ण उपलब्धि हो। विद्यालय जीवनदेखि नै निर्देशन क्षेत्रमा रुचि राख्दै आएका ज्ञवालीले यसै सिरिजलाई आफ्नो औपचारिक डेब्युको रूपमा लिएका छन्। चार वर्षअघि पहिलो पटक सिरिज निर्देशन गरेपछि करिब सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका उनी हाल चलचित्र ‘मालती मंगले’ निर्माणमा व्यस्त छन्। निर्देशक ज्ञवालीका अनुसार कहिलेकाहीँ अरूको सपना पूरा गरिदिनु पनि आवश्यक हुने भएकाले चलचित्र निर्माणमा संलग्न भएका हुन्, तर अब भने निर्देशनमै निरन्तर अघि बढ्ने योजना रहेको बताउँछन्। दर्शकको राम्रो प्रतिक्रिया आएमा ‘लट्ठक’को दोस्रो सिजन पनि ल्याइने उनले जनाएका छन्। साथै, छिट्टै आफ्नै निर्देशनमा नयाँ चलचित्र घोषणा गर्ने तयारीसमेत भइरहेको छ। यो वेब सिरिज म्युजिक नेपालको युट्युबमा रिलिज भएको हो।

नेपाली ग्रामीण परिवेशका पात्रहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘लट्ठक’ मा अनुभवी र नयाँ कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ। सिरिजमा सुभाष गजुरेल, अभय राज बराल, शकु शाह, कविता आले, रोकीत कार्की, रणजीत राणा, रोहित खत्री, शिला खनाल, जीवन जङ्ग थापा, दिवस विक्रम बोहरा, मानिषा भुजेल, इन्द्रजित चौलागाईं, लक्ष्मण चौलागाईं, उमिशा पाण्डे, सरिता भण्डारी, रचना पौडेल, गीता खड्का, श्रेया दुलाल र केबी पौडेल लगायत कलाकारको अभिनय रहेको छ। करिब २५ वर्षअघि ‘श्रीराम बाजे’का रूपमा परिचित अभिनेता सुभाष गजुरेल यस सिरिजमा ‘स्वाहा बाजे’को भूमिकामा देखिएका छन्। ‘होस्टेल रिटर्न्स’ बाट लोकप्रिय बनेका अभय राज बरालले पनि यस सिरिजमार्फत दर्शकको थप माया पाउने अपेक्षा गरिएको छ भने अभिनेत्री शकु शाहका लागि ‘लट्ठक’ अभिनय यात्राको नयाँ मोड साबित हुने विश्वास गरिएको छ।

‘लट्ठक’ म्युजिक नेपाल र ओरिजिनल मिडियाको प्रस्तुतिमा तथा अफ सिंक फिल्मसको सहकार्यमा निर्माण गरिएको हो। छायाङ्कन नारायण जी।सी।ले गरेका छन् भने सम्पादन तथा रङ संयोजन अनिल कुमार महर्जनले गरेका हुन्। कथा लेखक काजी लिम्बु हुन् भने शीर्ष गीतको लागि सङ्गीत दीक्षित अधिकारीले तयार पारेका छन्। ब्याकराउन्ड स्कोर आलिश कार्की, निक्सन उदय र प्रतीक थापाको रहेको छ। यसका क्रिएटिभ निर्देशक मदन घिमिरे तथा निर्माता साजन थापा हुन्।

‘लट्ठक’ ले नेपाली वेब सिरिजको क्षेत्रमा फरक स्वाद दिनुका साथै ग्रामीण जीवनशैली, सामाजिक विसङ्गति र हास्यलाई सरल तर प्रभावकारी रूपमा प्रस्तुत गरेको दाबी निर्देशकको छ।

Kumar Acharya

/ सम्बन्धित समाचार /