

गीतकार रामेश्वर के.सी. का शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराई को स्वर र संगीत रहेको पाँच विविध गीतहरूको संगालो गीति एल्बम ‘आरम्भ’ सार्वजनिक गरिएको छ।
शनिबार नक्सालस्थित लिसारा रिसेप्सन मा आयोजित विशेष समारोहबीच एल्बम लोकार्पण गरिएको हो। वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीतकार राजु सिंह, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा लगायत सांगीतिक क्षेत्रका विभिन्न स्रष्टा तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले गीतकार रामेश्वर के.सी. का शब्द तथा बबिना भट्टराईको गायन र संगीतको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा एल्बममा समावेश तीन वटा म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो।

गायिका तथा संगीतकार बबिना भट्टराई लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। उनले आधुनिक, गजल, भजन, लोक तथा बालगीतलगायत विभिन्न विधाका थुप्रै गीतमा स्वर र संगीत दिएकी छन्।
‘आरम्भ’ एल्बममा समावेश पाँचवटै गीतका भिडियोहरू बबिना भट्टराईको युट्युब च्यानलमार्फत हेर्न सकिने जनाइएको छ।














