

काठमाडौं । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘हली’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै चलचित्रले सामाजिक रूपान्तरणको सन्देश बोकेको जनाएको हो।
ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको करिब तीन मिनेट लामो ट्रेलरले पश्चिम नेपालमा अझै पनि विद्यमान छाउप्रथा र त्यसले महिलाको जीवनमा पार्ने गम्भीर असरलाई केन्द्रमा राखेको छ। महिनावारी भएका किशोरीलाई विद्यालय जान रोक लगाइने, परिवारका पुरुष सदस्यको अनुहारसमेत हेर्न नपाइने तथा छाउगोठमा बस्न बाध्य बनाइनेजस्ता कुरीतिलाई ट्रेलरमा यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्माता पूजा गुरुङ ले चलचित्र वास्तविक घटनाबाट प्रेरित भएको बताइन्। उनका अनुसार ‘हली’ केवल एउटा चलचित्र नभई समाजलाई सोच्न बाध्य बनाउने प्रयास हो।

“देश परिवर्तन भाषणले मात्र सम्भव हुँदैन। परिवर्तनका लागि एउटा ‘हली’को संघर्ष पनि पर्याप्त हुन सक्छ भन्ने सन्देश चलचित्रले दिन खोजेको छ,” उनले भनिन्।
निर्देशक ओम प्रतिक ले पश्चिम नेपालको सामाजिक यथार्थलाई आधार बनाएर चलचित्र निर्माण गरिएको बताए। समाजमा व्याप्त कुरीति अन्त्य गर्न चेतना नै सबैभन्दा ठूलो माध्यम भएको उनको भनाइ थियो।
पूजा गुरुङ र जस्मिन श्रेष्ठको निर्माण रहेको चलचित्रको कथा, पटकथा तथा निर्देशन ओम प्रतिकले गरेका हुन्। चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहारी को अभिनय रहेको छ। निर्देशक ओम प्रतिक स्वयं पनि प्रमुख भूमिकामा देखिएका छन्।
चलचित्रको प्रचारात्मक गीतमा दीपाश्री निरौला, पूजा शर्मा र मिथिला शर्मा को विशेष प्रस्तुति रहेको निर्माण पक्षले जनाएको छ। सार्वजनिक गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको दाबी पनि गरिएको छ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्स को सहकार्यमा निर्माण भएको ‘हली’ ले छाउप्रथा, सामाजिक विभेद र अन्धविश्वासविरुद्ध आवाज उठाउँदै समानता र चेतनाको सन्देश दिने निर्माण पक्षको विश्वास छ।
चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाज को संगीत रहेको छ। जस्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीतमा तयार गरिएको मुख्य गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको छ।
चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई नेसनल सिने ग्रुप प्रालि ले देशभर वितरण गर्नेछ।












