

चलचित्र ‘तिरिमिरी झ्याइँ’को फस्ट लुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। समीरको निर्देशनमा निर्माण भएको चलचित्र आगामी माघ २८ गतेदेखि प्रदर्शनमा आउने भएको छ। पात्रहरूको सामूहिक उपस्थिति रहेको पोस्टरमा चलचित्रका कलाकारहरूलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ। पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन्। आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको चलचित्र मनोरञ्जनात्मक र सामाजिक कथामा आधारित छ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत ‘दले दाइ’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठुलो पर्दामा डेब्यु गरेका छन्। चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ।
चलचित्रमा विशाल कक्षपतिको छायाङ्कन रहेको छ भने अभिषेक कार्कीको सङ्गीत रहेको छ। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा चलचित्रको पटकथा तथा संवाद तयार पारेका हुन्। चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रविन) हुन्। आभास अधिकारी कार्यकारी निर्माताका रूपमा छन्। सह–निर्माताहरूमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा रहेका छन्।



















