The Cinemax Hub

हरिहर भन्छन्ःह्रस्व दीर्घमा मैले कथा बोकेको छु

Facebook
Twitter
WhatsApp

काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’ यही कार्तिक ३० गते रिलिज हुँदैछ । नायिका नीता ढुंगाको डेब्यू निर्माण र द्वन्द्व निर्देशक चन्द्र पन्तको डेब्यू निर्देशकीय यो फिल्म यतिबेला चर्चामा छ । फिल्मको गीत र टिजर सार्वजनिक भइसकेको छ ।

फिल्मका नायक तथा पटकथाकार हरिहर अधिकारीले फिल्मको छायांकन राम्रो साइतमा गरिएकाले सुटिङ निर्धारित ४३ दिनमै सकिएको बताए । ‘सुटिङको साइत ज्योतिष विधा अनुसार नै निकालेर काम गरेका थियौं । त्यसमा हामी सफल भयौं । तर पोस्ट प्रोडक्सनको काममा ज्योतिष विधाको कुनै हात हुँदैन । जसकारण पोस्ट प्रोडक्सनमा समय लाग्यो’, उनले भने ।

हरिहरले आफू कला र कलाकारिता क्षेत्रमा लागेको हुनाले फिल्ममा अभिनय गरेको बताए । ‘मलाई यो क्षेत्रको माया लागेर फिल्ममा काम गरेको हो । हरेक क्यारेक्टरले कथा बोकेको हुन्छ, मैले पनि त्यही कथा बोकेको छु’, उनले भने ।

निर्मात्री तथा नायिका नीताले आफू कलाकार नभई निर्माता मात्र बन्न पाए हुन्थ्यो भन्ने लागे पनि अहिले दुवै भूमिका निभाउन बाध्य हुनुपरेको खुलाइन् । यो फिल्म आफूले निर्देशन गर्ने भने पनि कथा सकिएपछि काम गर्न आफू पछि हटेको बताइन् ।

निर्देशक चन्द्र पन्तले फिल्ममा धर्मसँग सम्बन्धित कुरा भए पनि फिल्म पूर्ण रुपमा धार्मिक नभएको जिकिर गरे । ‘फिल्ममा रोमान्स, एक्सन पनि छ । यो पारिवारिक फिल्म हो’, उनले भने ।

कलाकार विपना थापाले फिल्ममा आफूले आमाको भूमिका निभाएको खुलाउँदै यो क्यारेक्टरको लागि प्रस्ताव आउँदा शरीरमा रौ उम्रिएको दाबी गरिन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /