The Cinemax Hub

मिसिङः केटी हराएको सूचनाबारे यसो भन्छन् निर्देशक गौचन

Facebook
Twitter
WhatsApp

काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ यही कार्तिक ३० गतेबाट दर्शकमाझ आउँदैछ । नाजिर हुसेन र सृष्टि श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मको टिजर, पोस्टर, गीत र ट्रेलरले फिल्मवृत्त तथा दर्शकमाझ छुट्ट्रै हाइप बनाइसकेको छ ।

केही समयअघि ट्रेलर रिलिज भएपछि ट्रेलरमा देखाइएका दृश्यले पनि फिल्मवृत्त र दर्शकमाझ फिल्मप्रति चासो बढेको छ । यसै फिल्ममार्फत निर्देशक दीपेन्द्र गौचन ३२ वर्षपछि फिल्म निर्देशनमा ‘डेब्यू’ कमव्याक गर्दैछन् ।

दीपेन्द्रको बुझाईमा ‘मिसिङः केटी हराएको सूचना’ विपरीत जीवन बाँच्ने दुई युवायुवतीको मनछुने कथा हो । ‘उनीहरूको टकरावले प्रारम्भमा दुःख, द्वन्द्व, र सांस्कृतिक अन्तरलाई उजागर गर्छ । तर समयसँगै यो यात्राले दुवैमा एक किसिमको समझदारी र आपसी प्रेमको भावना जन्माउँछ’, दीपेन्द्र भन्छन् ।

उनका अनुसार फिल्मका दुई पात्र नाजिर र सृष्टिमार्फत नेपालका दुई भिन्न समुदायबीचको सामाजिक दूरी र सांस्कृतिक भिन्नतालाई पर्दामा उतार्दै उनीहरुको सम्बन्ध कसरी विस्तार हुनसक्छ भन्ने फिल्ममा देखाइएको छ ।

‘फिल्ममा नेपालको दक्षिण भेगस्थित तराईको समथर फाँटमा जन्मे हुर्केको एउटा केटाले उत्तरी पहाडकी एक महिलालाई अचानक अपहरण गरेर उसको गाउँ जनकपुर लैजान्छ । भिन्न पृष्ठभूमिका यी दुई पात्रले आफ्ना गहिराईमा रहेको सांस्कृतिक पूर्वाग्रहलाई पार गर्दै जीवनको एउटै मार्गमा एकअर्कासँग यात्रा गर्न सक्छन् कि सक्दैनन् रु भन्ने कथाको उठान फिल्ममा छ’, दीपेन्द्र खुल्छन्, ‘यो फिल्मले घटनालाई मात्र नभई मानिसबीचको अनपेक्षित सम्बन्ध र प्रेमको उचाइलाई पनि खोजेको छ ।’

‘मिसिङः केटी हराएको सूचना’ परम्परागत प्रेम कथाको नरहेको उनको दाबी छ । ‘यो यस्तो कथा हो, जसले प्रेम कसरी अप्रत्याशित ठाउँ र परिस्थितिमा पनि भेटिन सकिन्छ भन्ने कुरा देखाउँछ’, दीपेन्द्र भन्छन् ।

दीपेन्द्रले ३२ वर्षअघि डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए । अर्को लोकप्रिय डकुड्रामा ‘हाम्रो मुमिन’ पनि दीपेन्द्रकै निर्देशकीय सिर्जना हो ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । दीपेन्द्रकै निर्माण रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’मा उनकै स्क्रिप्ट लेखन छ । फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।

म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /