The Cinemax Hub

अन्तिम छायांकन तालिकामा बलिदान

Facebook
Twitter
WhatsApp

काठमाडौं । दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली फिल्म ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायाङ्कन सुरु गरिएको छ । चाडपर्वका कारण रोकिएको छायाङ्कन अब तीव्र गतिमा अघि बढ्ने तयारीमा छ ।

गत भदौमा छायाङ्कन सुरु भएको यस फिल्मको अन्तिम तालिका करिब ४५ दिनको रहेको निर्देशक सन्तोष सेनले बताएका छन् । छायाङ्कनका लागि कलाकारहरू समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव र ऋचा शर्मालगायतका प्रमुख कलाकार मोरङ पुगेका छन् ।

फिल्मको रिलिज मितिबारे निर्देशक सेनले छायाङ्कन पूरा भएको भोलीपल्ट टिजरसहित घोषणा गर्ने जानकारी दिए । उनले भने, ‘रिलिज मिति तय भइसकेको छ, तर यसको औपचारिक घोषणा टिजरबाट हुनेछ ।’

एक्सन प्रधान रहेको ‘बलिदान’ मा दक्षिण भारतका एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य तयार गरिरहेको छ । सामले ‘हाथी मेरे साथी’ र चियान विक्रम अभिनीत ‘थङ्गलम’ जस्ता चर्चित फिल्महरूमा काम गरिसकेका छन् ।

‘बलिदान’को अन्तिम छायाङ्कन तालिकामा छायाकार महेश पौडेलले जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि सञ्जय लामाले छायाङ्कन गरेका थिए, तर उनी अर्को फिल्मको छायाङ्कनमा व्यस्त हुने भएपछि पौडेलले यो जिम्मेवारी लिएका हुन् । पौडेलले यसअघि फिल्म ‘१२ गाउँ’ छायाङ्कन गरेका थिए ।

कथावस्तु नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित रहेको छ । ‘आसुसेन फिल्म्स प्रा।ली।’ को प्रस्तुति रहेको यस फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह(निर्माताको भूमिकामा छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /