The Cinemax Hub

ऊनको स्वीटरको मखमली

Facebook
Twitter
WhatsApp

काठमाडौं । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली फिल्म ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत कौडा र चुट्कामा आधारित छ, जुन लोक सङ्गीतको एक विशेष र चर्चित विधा हो । यो भाकामा जीवनका विभिन्न भावनाहरू प्रेम, वियोग, हास्यव्यङ्ग्य, व्यथा र सामाजिक परिवेशलाई सरल तरिकाले व्यक्त गरिन्छ ।

गीतले यस फिल्मका अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई व्यक्त गरेको छ । गण्डक क्षेत्रमा चर्चित मानिने यो भाका यो फिल्ममा भने पूर्वी नेपालको पाँचथरको संस्कृतिमा मिसाइएको छ । यस फिल्मको छायाङ्कन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको छ ।

गीतमा सुजन चापागाईँ र सुनिता थेगिमको स्वर रहेको छ भने हर्क साउदको शब्द रचना र गायक चापागाईँकै सङ्गीत रहेको छ । यसका सङ्गीत निर्माता कोविद बज्र हुन् । दीप गुरुङले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा अभिनेता विल्सन बिक्रम राईलाई रोचक भूमिकामा राखिएको छ ।

२०८२ सालको वैशाख २६ गते रिलिज हुने यस फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ । नवीन चौहानले निर्देशन गरेको ‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रालिले निर्माण गरेको पहिलो फिचर फिल्म हो, जसले यसअघि थुप्रै म्युजिकल फिल्महरू निर्माण गरेर लोकप्रियता हासिल गरेको थियो । आर्टमाण्डूले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई तीन पाते’ ‘फूलथुङ्गे रानी’ ‘चन्द्रमा’ जस्ता साङ्गीतिक फिल्महरू बनाएको थियो र चौहानले नै निर्देशन गरेका थिए । फिचर फिल्मको रूपमा भने चौहानको ‘ऊनको स्वीटर’ पहिलो हो । फिल्मलाई चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन् ।

फिल्मका सङ्गीत निर्देशक सुजन चापागाईँ हुन् र सङ्गीत निर्माण तथा ब्याकग्राउण्ड म्युजिक कोविद बज्रले तयार गरेका छन् । फिल्ममा समावेश गीतका रचनाकारहरू हर्क साउद र युवराज काफ्ले हुन् भने सङ्गीतकारहरू सुजन चापागाईँ र झुमा लिम्बु हुन् । गीतमा सुजन चापागाईँ, झुमा लिम्बु, सुनिता थेगीम र सलिना बि।क।को स्वर रहेको छ । कोरियोग्राफी रोशन बि।क। र दीप गुरुङले गरेका छन् । फिल्मको सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन् ।

फिल्मको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सह(निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने रहेका छन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन् । फिल्मको कला निर्देशन विशाल न्यौपानेको टिमले सम्हालेको छ । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम)ले गरेका छन् । सोसल मिडिया व्यवस्थापनमा प्रकाश क्षेत्री, विवेक खकुरेल, र ज्ञानु सङ्गम खड्का रहेका छन् । यस फिल्मको वितरण काफिया फिल्म्स प्रा।लि। र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।

मुख्य सहायक निर्देशक फिरोज खड्का, लाइन प्रोड्युसर फुङ्सो जबेगु, स्थानीय सहजकर्ता प्रज्वल बास्कोटा हुन् । प्रोडक्सन डिजाइन काजी राना र गुणराज देवानले गरेका छन् । मेकअप आर्टिस्ट आयाज शेख, कस्ट्युम डिजाइनर सुजन परियार, हेयर स्टाइलिस्ट सुशीला साम्बा, एक्टिङ तथा कास्टिङ निर्देशक सुरज तमू रहेका छन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /