The Cinemax Hub

विन्ध्यवासिनी सम्मान घोषणा

Facebook
Twitter
WhatsApp

काठमाडौं । विन्ध्यवासिनी फाउन्डेसनले आयोजना गर्न लागेको १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ अन्तर्गतको विभिन्न पाँच सम्मान घोेषणा गरिएको छ।
फाउन्डेसनले शनिवार राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा फाउन्डेसनको ११औँ भेला तथा १५औँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ मा प्रदान गरिने सम्मानका लागि छलफल कार्यक्रम आयोजना गरी बृहत् छलफलपश्चात् विभिन्न सम्मान र पुरस्कारका लागि संगीतकर्मी र पत्रकारको नाम सिफारिस गर्दै अनुमोदन गरी घोेषणा गरेको हो।

भेलाले मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०८१ आगामी चैत २८ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न गर्ने निर्णय गरेको छ। भेलामा फाउन्डेनका सल्लाहकारहरू गीतकार किरण खरेल र दिनेश अधिकारी तथा संगीतकार दीपक जंगम र शक्ति बल्लभको समितिले यस वर्षको विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड नगद एक लाख रुपियँसहित गीतकार राजेन्द्र थापालाई प्रदान गर्न सिफारिस गरेको छ।

सल्लाहकार समितिले विन्ध्यवासिनी संगीत साधना सम्मान नगद ५० हजार रुपियाँसहित गायिका संगीता शाक्यलाई तथा मुर्धन्य गायक प्रेमध्वज प्रधानको नाममा स्थापित २५ हजार रुपियाँसहित प्रेमध्वज संगीत रत्न सम्मान गायिका निशा देशारलाई प्रदान गर्न सिफारिस गरेको छ। त्यसै गरी लोकगायक झलकमान गन्धर्वको नाममा स्थापित यस वर्षको झलकमान लोक–संगीत सम्मान २०८१ गायक शिरिष देवकोटालाई प्रदान गर्न सिफारिस गरेको छ। छलफलपश्चात गीतकार दिनेश अधिकारीले सम्मानका लागि नाम सिफारिश गरेका थिए।

त्यसैगरी यस वर्षको विन्ध्यवसिनी कला पत्रकारिता सम्मान नगद २५ हजार रुपियाँसहित पत्रकार शारदा थापालाई प्रदान गर्न सिफारिस गरिएको छ। समितिका संयोजक पत्रकार विदुर गिरीले छलफलपश्चात् सिफारिस घोषणा गरेका थिए। भेलाले सिफारिश भएका सबै नाम अनुमोदन गरेको छ।

फाउन्डेसनले हरेक वर्ष अवार्ड आयोजना गर्नुअघि संगीतकर्मी र पत्रकारको विशेष भेला आयोजना गरी सम्बन्धित संगीतकर्मी र पत्रकारबाट सिफारिस नाम अनुमोदन गरी घोषणा गर्दै आएको छ। फाउन्डेसनका सचिव परमानन्द खनालद्वारा सञ्चालित भेलामा फाउन्डेसनका सञ्चालक सुवास रेग्मीले स्रष्टा सम्मानको १५ वर्षको अविछिन्न यात्रामा साथ दिने सवैलाई आभार प्रकट गर्दै यस वर्षको समारोह थप भव्य हुने बताए।

Cinemax Hub

/ सम्बन्धित समाचार /