

काठमाडौं :
निर्देशक दीपेन्द्र के। खनाल निर्देशित सिनेमा ‘के घर के डेरा : घर नं २’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ। बुधबार भएको प्रिमियरमा केही फरकपन अपनाएर गरिएको हो।
प्रिमियरमा सर्वसाधारण दर्शकसहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो। सामान्यतया प्रिमियरमा कलाकार, पत्रकार तथा सिनेमाकर्मीहरूलाई मात्र निमन्त्रणा गरिँदै आएको परिपाटी तोड्दै, निर्माण टिमले यसपटक १८० जना सर्वसाधारण दर्शकलाई र्याण्डम रूपमा निमन्त्रणा गरेको थियो। ती दर्शकसँगै बसेर कलाकार तथा निर्देशकले सिनेमा हेरेका थिए।

निर्माणपक्षले १८० रेन्डम दर्शकलाई प्रिमियरमा निम्तो दिएको थियो। सिनेमा हेरेपछि तीनै १८० सर्वसाधारण दर्शकसँग सिनेमाको प्रतिक्रिया लिएका थिए। आम सर्वसाधारण अडियन्सको रिभ्यु कस्तो आउँछ भनेर बुझ्न १८० सर्वसाधारण दर्शकलाई प्रिमियरमा बोलाइएको थियो। प्रायः नेपाली सिनेमाको प्रिमियरमा कलाकार, पत्रकार र आफन्तलाई बोलाउने प्रचलन छ। यो मान्यतालाई भत्काउँदै नर्मल अडियन्सलाई बोलाएर प्रिमियरमा सिनेमा देखाइएको हो।
प्रिमियरपछि सिनेमा हेर्ने दर्शकले ‘के घर के डेरा ः घर नं २’को तारिफ गरेका छन्। आम नेपाली नागरिकले हेर्नै पर्ने सिनेमा भनेका छन्। घरभेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा सिनेमामा रहेको उनको उनीहरूले रिभ्यू दिएका छन्।
अभिनेता हरिवंश आचार्यले सिनेमाको प्राविधिक पक्षको खुलेर तारिफ गरे।
अभिनेत्री स्वस्तिमा खड्काले सिनेमा ‘फेमिली भ्यालुज’मा आधारित रहेको बताउँदै निकै मनछुने खाल्को बताईन्। यता अभिनेत्री मनिषा कोइरालाले पनि सिनेमाको कथा आफ्नो मनमा गहिरो छाप परेको बताइन्।
उनले भनिन्,‘मर्मस्पर्शी कथा छ। कथाको पीडा आफूले नभोगे पनि त्यो अनुभूति गर्न सकिन्छ।’
गायिका अन्जु पन्तले फिल्ममा देखाइएको सम्बन्धको महत्व र दुःख सामना गर्ने तरिकाको खुलेर प्रशंसा गरिन्। निर्देशक दीपेन्द्र के खनालका अनुसार प्रिमियरमा सर्वसाधारण दर्शकलाई समावेश गर्नुको उद्देश्य सिनेमा जस्तो छ, त्यस्तै प्रतिक्रिया सुन्ने हो।
उनी भन्छन्,‘हामी चाहन्छौं सिनेमा राम्रो लागे अरूलाई भन्नुहोस्, नराम्रो लागे सुधार गर्न सुझाउनुहोस्।’
उनले थपे,‘हामीले प्रिमियरमा नयाँ थालनी गरेका छौँ । जस्तो सिनेमा छ त्यस्तै रिभ्यू आओस भनेर दर्शकलाई प्रिमियरमा सिनेमा देखाएका हौँ।’
दीपेन्द्र के खनालले निर्देशन गरेको यस सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो स्क्रिप्ट हो। सिनेमामा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ।
सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ। सिनेमाको कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।














