बलिउड अभिनेता आमिर खानका सिनेमा रिलिज हुँदा दर्शकको एउटै अपेक्षा रहन्छ, ‘कि उनका सिनेमाले निराश बनाउदैनन ।’
तर, चार वर्ष अगाडी रिलिज भएको ‘ठग्स अफ हिन्दोस्थान’ले दर्शकलाई निराश तुल्यायो । पछिल्लो समय ‘सेक्रेट सुपरस्टार’, ‘दंगल’, ‘पिके’ जस्ता सिनेमाले उचो पारिदिएको आमिरको स्टारडम ‘ठग्स अफ हिन्दोस्थान’ले हल्लाईदियो ।
त्यसपछिको कोभिड महामारी र हिन्दि दर्शक माँझ साउथ सिनेमाको दवदवाले बलिउडको व्यापार ठण्डाराम बन्यो ।
सन् २०२२ मा बलिउडले लय गुमाएको छ । ८ महिना बित्दा एउटा मात्र हिट सिनेमा दिनुले बलिउडको हविगत वर्णन गर्छ ।
यसै बीच बिहिबारदेखि रिलिज भएको ‘लाल सिंह चड्ढा’माथि बलिउडको आशा टिकेको थियो । यसपटक पनि आमिरले दर्शकलाई निराश बनाएका छन् ।
अक्षय कुमारको सिनेमा ‘रक्षा बन्धन’संग बक्सअफिस भिडन्त गरेको ‘लाल सिंह चड्ढा’लाई हलले सर्वाधिक शोज बाँडेका थिए । तर समिक्षात्मक रुपमा ‘लाल सिंह चड्ढा’ कमजोर बनेको छ ।
बलिउडका अधिकांस समिक्षकले सिनेमालाई ५ मा ३ माथिको रेटिङ दिएका छैनन् । २ आसपासको रेटिङले आमिरको सिनेमालाई न्याय गर्दैन । ‘ठग्स अफ हिन्दोस्थान’ अगाडीका आमिरका सिनेमाले ४ भन्दा माथिकै रेटिङ पाउथ्ये । जुन अब इतिहाँस बन्ला जस्तो छ ।
अद्वैत चन्दन निर्देशित ‘लाल सिंह चड्ढा’मा आमिरसंगै करीना कपूर, नागा चैतन्य, मोना सिंहलगायतका कलाकारहरुको अभिनय छ ।
बिहिबारदेखि नेपाली बक्सअफिसमा ‘लाल सिंह चड्ढा’संगै ‘रक्षा बन्धन’पनि सार्वजनिक प्रदर्शनमा आएको छ ।