डिजिटल एप खल्ती र नेपालको सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्सबीच बुधवार सम्झौता भएको छ । ललितपुरको लबिम मलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा खल्ती र क्यूएफएक्सका प्रतिनिधीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब दर्शकले क्यूएफएक्स चेनका ११ वटा हलका लागि खल्तीबाट सहजै टिकट काट्न सकिनेछ । यसका लागि ५० सेकेन्ड भन्दा बढी समय नलाग्ने खल्तीका प्रतिनिधिले बताए । नेपाली फिल्मको प्रमोशन र नेपाली फिल्मको टिकट काट्न दर्शकलाई सहज होस् भन्ने उद्देश्यले खल्ती एप अगाडि बढेको बताइएको छ ।
खल्तीका सिइओ बिनय खड्काले नेपाली फिल्मप्रति दर्शकको चासो बढोस् र टिकट काट्न पनि सहज होस् भनेर आफूहरुले सहकार्य गर्दै आएको बताए । उनले, आगामी दिनमा खल्तीले नेपाली फिल्मको प्रमोशनका लागि नयाँ सोच बनाउने समेत बताएका थिए ।
यसैबीच खल्ती एपबाट अभिनेत्री पूजा शर्माले आफू अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को पहिलो टिकट बुक गरेकी छिन् । कार्यक्रममा पूजाले खल्तीबाट कसरी सहजै ५० सेकेन्डमा सिनेमाको टिकट काट्न सकिन्छ भनेर जानकारी समेत दिएकी थिइन् ।
उनले भनिन्- ‘नेपाली फिल्म हेर्नका लागि बुकिङ गर्नुपर्ने, लामो लाइन बस्नुपर्ने, हतार हतार हल पुग्नु पर्ने झन्झटबाट अब दर्शकहरु मुक्त हुनु भएको छ । खल्तीले नेपाली सिनेमाको प्रमोशनका लागि देखाएको चासोले खुशी बनाएको छ । साथै, क्यूएफएक्सले सधैँ नै नेपाली फिल्मलाई माया गर्दै आएको छ
पूजा शर्मा अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ यही शुक्रबारदेखि रिलिज हुँदैछ ।