The Cinemax Hub

के भने त बलिउडकर्मीले ‘प्रेमगीत ३’ को बारेमा

Facebook
Twitter
WhatsApp

हिन्दी भाषामा डब भएर पहिलो पटक भारतमा प्रदर्शन हुने नेपाली सिनेमा ‘प्रेमगीत ३’को यसै हप्ता मुम्बईमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो । उक्त कार्यक्रममा उपस्थित हुनका लागि नेपालबाट निर्देशक एवं निर्माता सन्तोष सेन, मुख्य कलाकार प्रदीप खड्का, सुनिल थापा, मनिष राउत, प्रेम पुरी, क्रिस्टिना गुरुङलगायत मुम्बई पुगेका थिए ।

‘प्रेमगीत ३’लाई सहयोग गर्न बलिउडबाट ‘अन्तिम’ निर्देशक तथा कलाकार महेश मंजेकर, अभिनेता शिवाजी सतम, कोरियोग्राफर गणेश आचार्य, ‘भूल भूलैयाँ’ निर्देशक अनीस बाज्मी, गायक पवनदीप राजन, ‘धमाल’ निर्देशक इन्द्र कुमार, ‘प्रेमगीत ३’का भारतीय निर्माता सुवाष कालेलगायतको उपस्थिति थियो । उनीहरुलाई स्वागत गर्न प्रदीप र क्रिस्टिनाले रोमान्टिक नृत्य प्रस्तुत गरेका थिए ।

ट्रेलर रिलिजअघि बलिउडकर्मीले सिनेमाको पोस्टर लञ्च गरे । ट्रेलर हेरिसकेपछि भने उनीहरुले सिनेमाको तारिफमा शब्द खर्चिए । निर्देशक तथा कलाकार महेश मंजेकरले ट्रेलर राम्रो लागेको र सिनेमाले राम्रो व्यापार गर्ने विश्वास व्यक्त गरे । ‘अहिले क्षेत्रिय सिनेमाले राम्रो गरिरहेका छन् । सिनेमाको कुनै भाषा हुँदैन । ट्रेलरमा त्यो देखिन्छ । सिनेमाका गीतहरु पनि राम्रा छन्,’ उनले भने ।

ट्रेलर हेरेपछि अर्का निर्देशक अनीस बाज्मीले हिमायलको दृश्य एकदमै सुन्दर लागेको प्रतिक्रिया दिए । आफूलाई पनि वर्षौंदेखि नेपालको हिमालयको दृश्यमा सिनेमा खिच्ने इच्छा भए पनि आफू कहिल्यै जान नसकेको बताए । उनले लोकेशनदेखि छायांकन पक्षको प्रशंसा गरे । अभिनेता शिवाजी सतमले सिनेमा अन्तर्राष्ट्रिय स्तरको बनेको भन्दै सिनेमाले बक्सअफिसमा राम्रो गर्ने बताए ।

कोरियोग्राफर गणेश आचार्यले ट्रेलरमा मेहनत देखिएको भन्दै सिनेमा राम्रो चल्ने विश्वास व्यक्त गरे । त्यस्तै, निर्देशक इन्द्र कुमारले सिनेमा सुपरहिट बनोस् भनेर शुभकामना दिए । ‘प्रेमगीत ३’का भारतीय निर्माता सुवाष कालेसँगको सम्बन्धका कारण सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा प्रख्यात बलिउडकर्मीको उपस्थिति रहेको थियो । सुवाषले धेरै बलिउड सिनेमाको वितरण गरेका छन् ।

बलिउडकर्मीलाई साक्षी राख्दै सिनेमाका प्रमुख अभिनेता प्रदीप खड्काले कार्यक्रममा हिन्दी भाषामा आफ्नो धारणा राखेका थिए । एक पत्रकारले हिन्दी भाषामा बोल्नुको कारण सोधेपछि उनले भने- ‘अन्तर्राष्ट्रिय मञ्चमा बोल्दा हामी अंग्रेजी प्रयोग गर्छौं । जसले गर्दा हामी धेरै दर्शकसम्म पुगौंला । तर, हिन्दीमा बोल्दा हामी मनसम्म पुग्छौँ । त्यसैले हाम्रो लागि टुटेफुटेको हिन्दी नै उत्तम छ ।’

निर्माता एवं निर्देशक सन्तोष सेनले आफूहरुले त्यसबेला गरेको दुःखले यतिबेला खुसी मिलेको बताए । अभिनेता सुनिल थापाले सिनेमा अन्तर्राष्ट्रिय स्तरको बनेको भन्दै खुसी साटे । भारतीय दर्शकको लागि हिमालयको सुन्दर उपहार लिएर आएको र सबैलाई मनपर्नेमा उनी विश्वस्त सुनिए । अभिनेत्री क्रिष्टिना गुरुङले आफ्नो पहिलो सिनेमाले यति ठूलो हाइप पाउँदा खुसी लागेको बताइन् ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको सिनेमामा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । सिनेमालाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /