The Cinemax Hub

कलाकार तथा कला निर्देशक उद्धव भट्टराई ‘जुङ्गे’ को निधन

Facebook
Twitter
WhatsApp

जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा कलाकार तथा कला निर्देशक उद्धव भट्टराई ‘जुङ्गे’ को निधन भएको छ । उनको चितवनमा आफू सवार बसमै निधन भएको जानकारी प्राप्त छ । ६६ वर्षका उनी लामो समयदेखि दमको रोगबाट पीडित थिए । आर्थिक अभावका कारण उनको उपचार राम्रोसँग हुन पाएको थिएन । लामो जुंगा पाल्ने भएका कारण भट्टराई जुङ्गे उपनामले चर्चित थिए ।

उनले थुप्रै सुपरहिट नेपाली सिनेमामा कला निर्देशकको रुपमा काम गरेका छन् । उनले कला निर्देशनसँगै सिनेमामा भेषभुषा समेत हेर्ने गर्दथे । तर, प्रविधिले फड्को मारेसँगै उनी पछिल्लो समय कामविहीन थिए । आफू नजिक सिनेमाकर्मीसंग उनले सिनेमा क्षेत्रले आफूलाई विर्सिएको गुनासो गर्ने गरेका थिए । कुशल कलाकार समेत रहेका भट्टराई ४ दशकदेखि सिनेमामा सक्रिय थिए ।

‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरको रुपमा करिअर थालेका उनले पछिल्लो पटक सिनेमा ‘मेरी मामु’मा कला निर्देशकको रुपमा काम गरेका थिए । भट्टराईले नेपालीसँगै केही बलिउड सिनेमामा पनि अभिनय गरेका छन् । त्यसयता उनको हातमा काम थिएन । २०७३ सालमा एलजी अवार्डमा उनलाई कला निर्देशनको रुपमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

/ सम्बन्धित समाचार /