The Cinemax Hub

सिनेमा ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने

Facebook
Twitter
WhatsApp

कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन् लागेको सिनेमा ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको सिनेमा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पुर्वका देशहरुमा एक साथ रिलिज हुँदैछ ।

यी मध्ये अमेरिका र अस्ट्रेलियाको प्रदर्शनको लागि लगभग रेगुलर शोको चाँजोपाँजो मिलेको छ । एमएसएम इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले अमेरिका राइट्स महँगो रकममा खरिद गरेका छन् ।

पाँच सदस्य मिलेर संचालनमा ल्याएको एमएसएम इभेन्ट्सले अस्ट्रेलियाका विभिन्न प्रान्तमा आयोजना हुने शो र एकै सर्भर मार्फत टिकट लिन सकिने गरी एप डेभलप गरिरहेको छ ।

निर्देशक भट्टराईका अघिल्ला सिनेमाले दर्शकलाई निराश नबनाएका कारण ‘महापुरुष’को अस्ट्रेलियामा राम्रो माग रहेको एमएसएम इभेन्ट्सका एक प्रतिनिधिले बताए । ‘अस्ट्रेलियाका बिभिन्न शहरमा सिनेमाको शो गर्दैछौँ । नेपालमा जस्तै रेगुलर शोमा प्रदर्शन हुनेछ । रेगुलर शो आयोजना गर्दा दर्शकले आफ्नो समय हेरेर पायक पर्ने ठाउँमा सिनेमा हेर्न पाउनु हुनेछ ।’ प्रतिनिधिले भने ।

अमेरिका रिलिजको जिम्मा पाएको नेपाल ११ इन्टरटेनमेन्टका प्रतिक सुवेदीले प्रदीप भट्टराई र निर्माता रविन्द्र सिंह बानियाँको यसअघिको सहकार्यमा बनेका सिनेमाले दर्शकको मन जितेका कारण ‘महापुरुष’को राइट्स लिएको बताए ।

‘हामीले यहाँ विभिन्न शोहरु आयोजना गरिसकेका छौँ । उहाँहरुको सिनेमाले दर्शकलाई कहिले निराश बनाएको छैन । त्यसैले हामीले राइट्स ढुक्क भएर खरिद गरेका हौँ’ सुवेदीले भने । उनले मोमो इन्टरटेनमेन्टका विपिन थकालीसँग मिलेर अमेरिकासँगै क्यानाडामा शो गरिरहेका छन् । उनले त्यहाँका दर्शकलाई नेपालमा झैँ रेगुलर शोमा सिनेमा देखाउने काम गरिरहेका छन् ।

रेगुलर शोमा सिनेमा देखाउने भएपछी आफुले वितरण कम्पनिसंग सहकार्य गरेको निर्माता बानियाँले बताए । ‘जसरि सिनेमा देखाउने शैली कम्युनिटी हलबाट सिनेमा हलमै पुग्यो । अब दर्शकलाई एउटा शो दिने भन्दा पनि रेगुलर शोमै सिनेमा देखाउने हाम्रो तयारी पुरा भएको छ । अब दर्शकले अन्य विदेशी सिनेमा झैँ आफ्नो अनुकुल समयमा हेर्न पाउनु हुनेछ ।’ बानियाँले भने ।

अमेरिकामा नेपाल रिलिज कै दिन ३० शोको हारहारीमा सिनेमा प्रदर्शन हुनेछ । यसको अस्ट्रेलिया र अमेरिका राइट्स ५०/५० लाखमा बिक्रि भएको हो ।

सामाजिक कथाबस्तुमा आधारित ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतका कलाकारहरुको अभिनय छ ।

दीपक बज्रचार्यले खिचेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ ।

षट्कोण आर्ट्सको व्यानरमा निर्मित सिनेमामा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दिपेश खत्री सिनेमाका निर्माता हुन् ।

Cinemax Hub

/ सम्बन्धित समाचार /