सिनेमा ‘सायरा’को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । मंगलवार होटल र्याडिसनमा आयोजित एक कार्यक्रमका बीच भारतीय र नेपाली निर्माताले संयुक्त रुपमा निर्माण गर्न लागेको सिनेमाको निर्माण घोषणा गरिएको हो ।
सिनेमालाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्नेछन् । सिनेमाको दशैं तिहारको बीचमा छायांकन सुरु हुने सायराको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ । सिनेमामा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ ।
नेपालबाट अभिनेता आर्यन सिग्देल र मोडल तथा डान्सर कविता नेपालीको मुख्य भूमिका रहनेछ भने भारतबाट अभिनेत्री सुफिया सिद्दिकीको अभिनय रहनेछ । सुफियाले एक दर्जन बढी बलिउड र केही हलिउड सिनेमामा अभिनय गरिसकेकी छन् । सिनेमाको घोषणा कार्यक्रमलाई उनले भिडियो सन्देशबाट सम्बोधन गरेकी थिइन् ।
डिविआर मिडिया एन्ड मुभी प्रालीको प्रस्तुतिमा अष्ट्रेलियाको आइविल प्रोडक्सनले सिनेमा निर्माणमा सहकार्य गरेको छ । रघु परियार प्रस्तुतकर्ता रहेको सिनेमाको कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा छन् । सिनेमाको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल सिनेमा निर्माण गर्न लागेको बताए ।
अभिनेता आर्यन सिग्देलले सिनेमाको चरित्र र टिम राम्रो लागेकाले काम गर्न तयार भएको बताए । ‘सायरा’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी कविताले भने सिनेमालाई लिएर आफू उत्साहित रहेको सुनाइन् । सिनेमाका भारतीय निर्माता पुष्कर झाले ‘सायरा’ नेपाली भाषामा निर्माण हुने तर हिन्दी डब गरेर भारतमा पनि प्रदर्शन गरिने जानकारी दिए । सिनेमा नेपाल र भारतमा एकसाथ प्रदर्शन हुनेछ ।



