शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा के घर के डेराले दर्शकको राम्रो साथ पाएको छ । शुक्रबार औषत व्यापार गरेको सिनेमाले शनिबबार दर्शकको राम्रो साथ पाएकको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार मल्टिप्लेक्समा सिनेमाको अकुपेन्सी ५० देखि शतप्रतिशत देखिएको छ । मध्यान्ह र बेलुकीका शोजहरु भरिभराउ छन् ।
सकारात्मक समीक्षा प्राप्त गरेको सिनेमाले विकडेजमा आफूलाई कसरी अघि बढाउँछ भन्ने कुरा यसको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । क्यूएफएक्स, एफक्यूब, बिग, आइएनआई मल्टिप्लेक्समा सिनेमाको अकुपेन्सी बलियो देखिएको छ । शुक्रबार सिनेमाले ५० लाख हारहारीमा ओपनिङ गरेको जानकारी वितरक करण श्रेष्ठले दिए ।
‘पहिलो दिन ५० को हारहारीमा ओपनिङ छ । शनिबार ९० लाख ग्रस आसपास हुने अनुमान छ’ श्रेष्ठले भने, ‘भयंकर राम्रो रेस्पोन्स पाएका छौं । तिहार बिदा आउनै बाँकी भएकाले कमाइमा बढोत्तरी हुने अनुमान छ ।’ संयोगवश सिनेमालाई फाइदाको पक्ष के देखिएको छ भने, विकडेजको पहिलो दिन सोमबारदेखि तिहार बिदा एकसातासम्म छ । जसको प्रत्यक्ष फाइदा सिनेमालाई पुग्नेछ ।
दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ । के घर के डेराको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
सिंगे लामाको कथा रहेको सिनेमामा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।