तिहारको केही आफ्नै विशिष्टता छ । जस्तो कि, सेलरोटी, सयपत्री अनि संगीत । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्धले जसरी तिहारलाई खास बनाएको छ, उसैगरी देउसी-भैलो भाकाले पनि ।
जब देउसी-भैलो गुञ्जन थाल्छ, तिहारको उल्लास छाउँछ । यसरी संगीतसँग अभिन्न रुपमा जोडिएकैले हुनुपर्छ, तिहारलाई लक्षित गरेर सर्जकहरुले थुप्रै गीतहरु रचेका/गाएका छन् । जब यी गीतहरु घन्किन थाल्छन्, तब सप्तरंगी पर्व तिहारको रंग अरु प्रगाढ बन्छ । तिहार शुरु नहुँदैदेखि केही तिहारका गीतहरु गुञ्जिन थाल्छन् । यहाँ यस्तै तिहारका सदाबहार गीतहरु प्रस्तुत गरिएको छ ।
तिहारै आयो लौ झिलिमिली…
चलचित्र ‘स्वर्ग’मा समावेश गीत। शम्भु प्रधानको निर्देशन रहेको यो चलचित्र २०५० सालमा प्रदर्शनमा आएको हो । यो गीत यादव खरेलले लेखेका हुन् भने शम्भूजीत बाँस्कोटाको संगीत रहेको गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ । सार्वजनिक भएको २८ वर्षसम्म पनि यो गीत उत्तिकै ताजा लाग्छ । हरेक वर्ष तिहारमा सर्वाधिक घन्किनेमा पर्छ यो गीत । एक हिसाबले यो गीत तिहारको पर्याय नै बनेको छ ।
दियो बाली साँझको…
तिहारको अर्को सदाबहार गीत हो, दियो बाली साँझको । तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘चिनो’मा समावेश गरिएको यो गीतमा कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वर छ । गीतमा स्वर्गीय कलाकार शुभद्रा अधिकारी, केशव भट्टराईको शीर्ष भूमिका छ । यो चलचित्र पनि प्रदर्शनमा आएको तीन दशक भइसकेको छ, तर आजसम्म पनि ‘दियो बाली साँझको’ गीत उत्तिकै लोकप्रिय छ । हरेक वर्षको तिहारमा घन्किने गीतमध्ये यो पनि शीर्षस्थानमा पर्छ ।
निधारमा लर्काएर सप्तरंगी टीको। चलचित्र ‘विजय पराजय’मा समावेश छ । राजेन्द्र शलभले निर्देशन गरेको यो चलचित्रको यस गीतमा दिनेश अधिकारीको शब्द, शम्भूजीत बास्कोटाको संगीत र बलिउड गायिका हेम लताको स्वर छ । यस गीतमा तिहारको सांस्कृतिक पक्षलाई जोडिएको छ । दाजु र बहिनीबीचको मायालाई गीतमा प्रस्तुत गरिएको छ । २०४७ सालमा प्रदर्शनमा आएको चलचित्रको यो गीत आजसम्म पनि उत्तिकै लोकप्रिय छ । हरेक वर्ष तिहारमा यो गीत घन्किने गर्छ ।
यसपालिको तिहारै रमाइलो…
आकाश अधिकारीको निर्देशनमा बनेको चलचित्र ‘कोहिनूर’मा समावेश गरिएको यो गीत पनि तिहारको बेला घन्किने गीतमध्येमा पर्छ । गीतमा सुन्दर श्रेष्ठको शब्द, शम्भूजीत बास्कोटाको संगीत, प्रमोद खरेल र अञ्जु पन्तको स्वर रहेको छ । पछिल्लो समय चलचित्रमा समावेश तिहार गीतमध्ये यो गीत रुचाइनेमा पर्छ ।
पुरानामा तीन दशकभन्दा अगाडि प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित चलचित्र चलचित्र ‘अन्याय’मा पनि तिहारसम्बन्धी गीत समावेश गरिएको छ । ‘अधरमा आज उनकै छ गीत’ गीतमा रत्नशमशेर थापाको शब्द, रञ्जित गजमेरको संगीत र मनिला सोताङको स्वर छ ।
यसैगरी अनिल संग्रौलाद्वारा निर्देशित चलचित्र ‘माइती’मा पनि तिहार सम्बन्धित गीत समावेश गरिएको छ । चलचित्रमा ‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’ बोलको गीत समावेश छ ।
चलचित्र ‘आफ्नो मान्छे’मा तीज र तिहार समेटेर ‘तीज र तिहार आउँदामा बहिनी’ बोलको गीत समावेश गरिएको छ भने चलचित्र ‘फिटकिरी’मा देउसिरे गीत समावेश छ । चलचित्र ‘पालेदाइ’मा ‘साइतको सप्तरंगी निधारमा खुल्न देऊ है’ बोलको तिहार गीत समावेश गरिएको छ।
गायक एवं संगीतकार नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परदेशी’मा भैली गीत समावेश गरिएको छ । नारायण रायमाझीको संगीत रहेको गीतमा नारायण र टीका पुनको स्वर छ । कथाअनुसार चलचित्रमा यो भैली गीत समावेश गरिएको छ । यस्तै चलचित्र ‘बन्दी’मा पनि तिहारसम्बन्धी ‘भैलो खेलौं है भैलिनी हो’ गीत समावेश गरिएको छ ।