The Cinemax Hub

लक्ष्मण सुवेदीको कमब्याक सिनेमाको मुख्य भूमिकामा अभिनेत्री मलिका महत अनुबन्धित

Facebook
Twitter
WhatsApp

अभिनेत्री मलिका महत रंग पत्रकारिताबाट निर्देशक बनेका लक्ष्मण सुवेदीको कमब्याक सिनेमाको मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । मंगलबार उनीहरुबीच कागजी सम्झौता भएको हो । अनटाइटल सिनेमाको स्क्रिप्ट, टिम र चरित्र मन परेपछि मलिका काम गर्न तयार भएकी हुन् ।

सिनेमामा उनी शीर्ष भूमिकामा रहने निर्देशक सुवेदीले बताए । आगामी फागुन पहिलो साताबाट छायांकन सुरु हुने सिनेमामा निर्देशक सुवेदी स्वयंको कथा, पटकथा तथा संवाद, निर्माण र गीत लेखन रहेको छ । सिनेमाको सम्पुर्ण छायांकन गाउँमा गरेर काठमाडौंमा क्लाइमेक्स खिच्ने तयारी निर्माण टिमको छ ।

नारी प्रधान सिनेमामा मलिकाको भूमिका बलियो रहेको निर्देशक सुवेदीले बताए । चलचित्र विकास बोर्डमा दर्ता हुन बाँकी भएकाले सिनेमाको नाम अहिलेलाई गोप्य राखिएको छ । दिलासा कृएसनको ब्यानरमा निर्माण हुने सिनेमामा मलिकाबाहेक अरु कलाकार फाइनल भएका छैनन् । लक्ष्मणले अडिसनबाट बाँकी कलाकार छानिने जानकारी दिए ।

छायांकनमा निस्कनुअघि एकहप्ता वर्कसप पनि हुने निर्देशक सुवेदी बताउँछन् । उनले सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने दाबी गरेका छन् । उनले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ सिनेमाको निर्माण तथा निर्देशन गरेका थिए । निर्देशक सुवेदीले थुप्रै सिनेमाको कथा, पटकथा तथा संवाद लेखिसकेका छन्।

निर्देशक सुवेदीले केही समय अगाडी सिनेमा ‘ठगराज’ निर्माण तथा निर्देशनको घोषणा गरेका थिए । सिनेमाका लागि गीत समेत रेकर्ड भइसकेको थियो । तर, सिनेमाको कथावस्तुमा अझै सूक्ष्म अध्ययन गर्नुपर्ने भएकाले उनले मलिकालाई लिएर नयाँ सिनेमा निर्माण गर्न लागेका हुन् । यो सिनेमा रिलिजपछि ‘ठगराज’ छायांकनको तयारी भैरहेको छ ।

/ सम्बन्धित समाचार /