शुक्रबारबाट दुई नेपाली सिनेमा ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ प्रदर्शनमा आएका छन् । साम्रज्ञी अभिनित सिनेमा ‘तिम्रो मेरो साथ’ करिब ३ बर्षपछि हलमा रिलिज भएको छ । सिनेमालाई लिएर उनी निकै आशावादी समेत छिन् । रिलिजको पूर्व सन्ध्यामा चितवनमा गरिएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएकाले पनि उनलाई सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा छ ।
यता अभिनेत्री सारा सिर्पाली पनि ‘सुश्री सम्पत्ति’ पछि ‘गुञ्जन’ मार्फत हल छिरेकी छन् । लगातार असफल सिनेमा दिएकी उनको करियर ‘गुञ्जन’को व्यापारमा टिकेको छ । सिनेमाको सार्वजनिक गीत र ट्रेलरले दर्शकमाझ सकरात्मक प्रतिक्रिया मिलेकाले पनि उनी सिनेमा प्रति आशावादी देखिएकी छन् ।
शुक्रबारबाट प्रदर्शनमा आएका दुवै सिनेमालाई मल्टीप्लेक्सले लगभग बराबर शो बाँडफाँड गरेका छन् भने सिंगल थिएटर पनि दुवैको हिस्सामा बराबर नै परेको छ । फ्रेस बलिउड र हलिउडका ठुला सिनेमा नेपाली हलमा यो शुक्रबार रिलिज नहुँदा दुई नेपाली सिनेमालाई केही हदसम्म राहत मिलेको छ ।
रमेश एमके पौडेलको डेब्यू निर्देशित सिनेमा ‘तिम्रो मेरो साथ’मा साम्राज्ञीका अलावा पुष्प खड्का, सन्दीप क्षेत्री, खड्क बहादुर पुन, इमिली लामा, सरोज खनाल, दिपाशा विसीको अभिनय छ । त्यस्तै, अष्टमान महर्जनको डेब्यू निर्देशित सिनेमा ‘गुञ्जन’मा साराका अलवा डेव्यु अभिनेता प्रितमराज सेन्चुरी, कबीर खड्का, सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतानको अभिनय रहेको छ ।