अनमोल केसी स्टारर सिनेमा ‘जेरी २’मा अभिनेत्री आना शर्माको प्रवेश भएको छ । हेमराज बिसीले निर्देशन गर्ने सिनेमाको लागि मंगलबार बेलुका आना र निर्माण पक्षबीच कागजी सम्झौता भएको हो ।
आनाको प्रवेशसंगै अनमोलसंग ८ वर्षपछि अनस्क्रिन रोमान्स पक्का भएको छ । ८ वर्ष अगाडी आनाले ‘जेरी’बाटै डेब्यु गरेकी थिइन् । सिनेमाको लागि अर्को प्रमुख अभिनेत्रीको रुपमा यसअघि नै पूर्णिका सिंजापति फाइनल भैसकेकी छन् ।
अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन । अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा कास्टिङ कल आव्हान गरेको छ ।
एक महिनापछि छायांकन सुरु हुने सिनेमाको लागि अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लोकेशनको लागि तय गरिएको छ । सगरमाथा क्षेत्रमा यसअघि अनमोल र सुहाना थापा स्टारर ‘ए मेरो हजुर ३’ छायांकन गरिएको थियो ।