The Cinemax Hub

‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटेका छन्

Facebook
Twitter
WhatsApp

सिनेमा प्रमोसनका लागि मोफसल टूरमा रहेको ‘ह्यारीकी प्यारी’ टिमले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटेका छन् ।

बिहिबार कलाकार जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, डिओपी सुदिप बराल र निर्देशक डा. कपिल रिजाललगायतको टिमले धरानस्थित श्रम संस्कृति पार्कमा पुगेर मेयर साम्पाङलाई सय वटा रुद्राक्षको बिरुवा प्रदान गरेको थियो ।

निर्देशक रिजालले मेयर साम्पाङको काम गर्ने तरिकाले आफु प्रभावित भएकाले धरान आएको बेला बिरुवा उपहार लिएर भेट्न आएको बताए ।

‘धरानसंग मेरो बाल्यकाल जोडिएको छ । यहिँ हुर्केर पढेको मान्छे हुँ म । देश दौडाहको क्रममा यहाँ आउँदा हर्क सरलाई पनि भेटौं भन्ने लाग्यो । त्यसै अनुरुप सय वटा रुद्राक्षको बिरुवा लिएर आएका छौं । हामि रहे नरहेंपनि यी रुख रहिरहने छन् ।’ रिजालले साम्पाङलाई बिरुवा प्रदान गर्दै भने ।

अभिनेत्री शाहले मेयर साम्पाङको काममा हौसला बढाउन बिरुवा सहयोग गरेको बताउदै ‘ह्यारीकी प्यारी’पनि हेरिदिन आग्रह गरिन ।

अभिनेता जितु नेपालले साम्पाङलाई परिस्थितिले बनाएको रियल हिरोको उपमा दिंदै सिनेमाको प्रिमियर र ‘मुन्द्रेको कमेडी क्लब’ सिजन ३ मा आतित्यथा ग्रहणको निम्तो दिए ।

बिहिबारै निर्देशक मिलन चाम्स, क्याप्टेन/कलाकार विजय लामालगायतको टिमपनि मेयर साम्पाङलाई भेट्न श्रम संस्कृति पुगेका थिए ।

भेटघाटको दौरान चाम्स र थापाले ‘ह्यारीकी प्यारी’ टिमलाई सफलताको शुभकामना दिंदै दर्शकलाई सिनेमा हेरिदिन आग्रह गरेका थिए ।

अनौपचारिक कार्यक्रममा बोल्दै मेयर साम्पाङले राम्रो उपहार प्रदान गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै सिनेमालाई सफलताको शुभकामना दिए । साथै साम्पाङले श्रमदानले गर्दा नै आफुले खानेपानीको योजनालाई समय मै पूर्णता दिएको बताए ।

उनले श्रमदानले बिकास, समाज र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए । उक्त भेटघाटमा मोडल एलिसा राई, कलाकार रेखा फागो र निर्देशक जनकदीप पराजुलीपनि उपस्थित थिए ।

जितु, साम्राज्ञी र विजयसहित लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको अभिनय रहेको ‘ह्यारीकी प्यारी’ माघ २० देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

नेपालीसंगै हिन्दी, मराठी र बंगाली भाषामा निर्माण गरिएको सिनेमा नेपाल रिलिजपछि अन्य देशमा प्रदर्शन हुनेछ ।

निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।

सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषाल/शिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा. भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।

/ सम्बन्धित समाचार /