The Cinemax Hub

चलचित्र छायाँकनका लागि रोल्पाले थुप्रै संभावना बोकेको चलचित्रकर्मीहरुले बताएका छन्

Facebook
Twitter
WhatsApp

चलचित्र छायाँकनका लागि रोल्पाले थुप्रै संभावना बोकेको चलचित्रकर्मीहरुले बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा साँस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र छायाँकनका लागि रोजाईमा पार्न सकिने उनीहरुको भनाई छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको डाँडागाउँमा आयोजना गरेको ‘बृहत चलचित्र बहस’ मा चलचित्र निर्देशक ऋषिराज आचार्यले रोल्पा चलचित्र छायाँकनका लागि उपयुक्त ठाउँ भएको बताउनुभयो ।

उहाँले भौगोलिक हिसावले टाढा हुँदा आर्थिक लगानी बढी लगाउनुपर्ने हुँदामात्रै रोल्पा चलचित्र छायाँकनस्थल बन्न नसकेको बताउनुभयो । ‘जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पामा छायाँकनस्थल निकै सुन्दर छन् ।’ उहाँले भन्नुभयो-‘फिल्म सुटिङका लागि दुरीका हिसावले टाढा भएकाले पनि अहिलेसम्म चलचित्रकर्मीको नजरमा नपरेको होला ।’ सरकारले चलचित्र छायाँकनका लागि केहि लगानी गर्न सकेपछि निर्माता निर्देशक पनि रोल्पाका लागि लगानी गर्न तयारी रहेको उहाँले बताउनुभयो ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय पुर्व अध्यक्ष शान्ति प्रियले चलचित्रका निर्माता निर्देशकले फिल्मको कथावस्तु अनुसार छायाँकनस्थल छनौट गर्न नसकेको बताउनुभयो । ‘फिल्मको कथावस्तु अनुसारका छायाँकनस्थल पर्न सकेको छैन् ।’ उहाँले भन्नुभयो-‘रोल्पाजस्तो सुन्दर ठाउँ अब फिल्मकर्मीको नजरमा पर्नुपर्छ, यसका लागि फिल्मकर्मी र सरकार दुवैको ध्यान पुग्न आवश्यक छ ।’

नायक रमित ढुंगानाले रोल्पा चलचित्र छायाँकनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताउनुभयो । एक सय बढी चलचित्रमा अभिनय गरिसकेका ढुंगानाले अहिलेसम्म चलचित्रको कथावस्तु अनुसार छायाँकनस्थल पर्न नसकेको अनुभूति भएको बताउनुभयो ।

परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले रोल्पा चलचित्रको पर्दामा समेटीन नसक्नुमा समन्वयको अभाव खट्कीएको बताउनुभयो । उहाँले अब चलचित्र छायाँकनस्थलको रुपमा रोल्पालाई गराउन सकेपछि स्थानीय नागरिकको जीवनस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो ।

चलचित्रकर्मीको नजरमा रोल्पा पर्न सकेपछि पालिकालाई पनि आर्थिकरुपमा सवल बनाउन सकिने बताउनुभयो । उहाँले चलचित्रको छायाँकनका लागि रोल्पामा आउन चाहने निर्माता निर्देशकलाई जिल्लाका सबै पालिकाको समन्वयमा आवश्यक बजेटको व्यवस्थापन पालिकाले गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा फिल्मर्कीले रोल्पा चलचित्र छायाँकनका लागि भर्जिन ल्याण्ड रहेको बताएका छन् । १० बर्षे जनयुद्धको क्रममा तत्कालीन जनयुद्धका मुख्य कमाण्डर तथा गणतन्त्र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिशेष सुरक्षा सहित सेल्टर लिएको ठाउँ“युद्ध पर्यटन केन्द्र डाँडागाउँ“अहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न आबश्यक रहेको समेत उनिहरुको जोड छ ।

बहस कार्यक्रममा रोल्पामा चलचित्र निर्माणको अवस्था, सम्भावना र चुनौती कार्यक्रमको विषय उद्देश्यका बारेमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले प्रकाश पार्नु भएको हो ।

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाको आयोजना, गाउँपालिका वडा नम्बर २ को सह-आयोजना तथा पालिकाको सहयोगमा कार्यक्रम भएको हो । संघका जिल्ला अध्यक्ष शिव पुनको अध्यक्ष तथा गाउँपालिका अध्यक्ष बुढा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगरको स्वागत मन्तव्य बाट सुरु भएका कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न झाँकी समूह, आमा समूह, बाजा समूह, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार, साहित्यकार, समाजसेवी, बुद्धिजीवी लगाएतको सहभागिता रहेको थियो ।

रोल्पाको परिवर्तन गाउँपालिका-२ राङ्सीको डाँडागाउँ ऐतिहासिक महत्त्व बोकेको गाउँ समेत मान्ने गरिएको छ । पहिलेको युद्धस्थलको रुपमा परिचित उक्त स्थान अहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

उद्घाटन कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका उपाध्यक्ष सन्तोष केसी र बहस कार्यक्रमको सहजीकरण पत्रकार बसन्त विवस आचार्यले गर्नुभएको हो ।

Cinemax Hub

/ सम्बन्धित समाचार /