

काठमाडौं । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली फिल्म ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको प्रवेश भएको छ । यस फिल्ममा प्रमुख भूमिकाको लागि बराललाई अनुबन्ध गरिएको निर्देशक हिमाल न्यौपानेले जनाए ।
हालै मात्र नेपालमा ५० करोड माथीको व्यापार गरेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता समेत रहेका बरालले ‘जनै हराएको बाहुन’को लागि लेखिएको स्क्रिप्ट मन परेर फिल्ममा जोडिएको प्रतिक्रिया दिए । फिल्मको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् ।
यो फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो फिल्मले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ । फिल्मका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर।के। मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् ।

यस फिल्ममा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक’ हुन् भने एसोसियट निर्देशक ‘प्रेम गीत–३’का कलाकार मनिस राउत हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।
यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो फिल्म २०८२ सालमा दर्शकमाझ आउनेछ ।














