The Cinemax Hub

जेरी अन टपको छायांकन पुरा

Facebook
Twitter
WhatsApp

काठमाडौं । अनन्या फिल्मस् प्रालिको मल्टिस्टारर फिल्म ‘जेरी अन टप’को छायांकन पुरा भएको छ । सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन सम्पन्न गरेर कलाकारसहितको निर्माण टिम काठमाडौं फर्किएको छ । यो फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ र केदार घिमिरे ‘माग्ने बुढा’को प्रमुख भूमिकामा अभिनय छ ।

‘फिल्ममा समावेश हुने दुई गीत बाहेकका सम्पूर्ण दृश्य छायांकन सकेर फर्केका छौं’, निर्माता सरोज न्यौपानेले भने, ‘उत्कृष्ट फिल्म तयार हुनको लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन् ।’ सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो फिल्म खिचिएको छ । फिल्मका केहि दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो ।
अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि यो फिल्ममा छन् । अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भुमिका निभाएका छन् ।

कलाकारको लाइनअपदेखि छायांकनसम्म पुग्दा फिल्मको बजेट झण्डै ६ करोड पुगेको निर्माता न्यौपानेले बताए । गत सातामात्रै यो फिल्मको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार बिक्री भएको थियो । हङकङमा स्थापना भएको एलजी एसोसिएट्सले ३ करोड बढि एमजी (मिनिमम ग्यारेन्टी) मा ‘जेरी अन टप’को विदेश राइट्स खरिद गरेको बताइएको छ । न्यौपानेले विदेश प्रदर्शन अधिकार बिक्री हुँदा फिल्मको आधा लगानी ‘कभर’ भइसकेको बताए ।

सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । वितरण कम्पनीसँगको सल्लाहमा केहि दिनमै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले बताए ।

फिल्ममा समावेश हुने एक गीत नेपालमा र एक गीत भारतका छायांकन गरिने निर्माण टिमले बताएको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /