The Cinemax Hub

दृश्यको पोस्टर सार्वजनिक

Facebook
Twitter
WhatsApp

काठमाडौं । सर्ट फिल्म ‘दृश्य’ (द लाईट अफ आई) को निर्माण सम्पन्नसँगै पोस्टर सार्वजनिक भएको छ । फिल्मको छायांकन काठमाडौंमा गरिएको हो ।

पोस्टरमा एउटा आँखाभित्र दुईजना पात्रहरु देखाइएको छ । एकजना दृष्टिविहिन र अर्को सामान्य मानिसलाई आँखाभित्र अटाइएको छ । पोस्टर रसिकराजले तयार पारेका हुन् ।
ऐना आर्टसको प्रस्तुति तथा आश्री इमिग्रेशनको सहकार्यमा निर्माण गरिएको फिल्मको निर्माता नितु घिमिरे हुन् । फिल्मका लेखक तथा निर्देशक मोहन अभिलाषी हुन् ।

निर्देशक अभिलाषीले बाहिरी आँखाले देखेको भौतिक दुनियाँ र हृदयको आँखाले महसुस गर्ने अन्तरमनको दुनियाँलाई तुलनात्मक रुपमा फिल्ममा देखाउन खोजिएको बताए । ‘मानिस जन्मेपछि मर्नुपर्छ, यो प्रकृतिको नियम नै हो । भौतिक दुनियाँमा बाँच्नको लागि मानिसहरुले जीवनमा अनेक संघर्ष गरिरहेका हुन्छन् । हामी बाहिरी आँखाले देखेको भौतिक दुनियाँमा रुमल्लिरहेका छौं र लोभ, मोह, माया, इष्र्या, डाह, घृणा, रिस, आरिस आदिमा अल्झिरहेका हुन्छौं । केहि समय आँखा बन्द गरेर सोच्ने हो भने पनि मन र मष्तिष्कले मानिसलाई अझ सुन्दर जीवन जिउन सिकाइरहेको हुन्छ,’ निर्देशक अभिलाषीले भने ।

फिल्मलाई विभिन्न ओटिटी प्लेटफर्ममार्फत् रिलिज गर्नुअघि अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागी गराइने उनले बताए ।

आश्री इन्भेष्टमेन्टको सहयोगमा तयार भएको फिल्म निर्माण प्रमुख रामेश्वर भट्टराई हुन् । आश्री इमिग्रेशन, आश्री इन्भेष्टमेन्ट, आश्री ट्राभल्सका सञ्चालकसमेत रहेका भट्टराईले कथावस्तु मन परेकाले सर्ट फिल्म निर्माण गरेको बताए ।

फिल्ममा नारायणराज चौंलागाइँ, सुवासप्रसाद गजुरेल, राकेश श्रेष्ठ, आरुष मगर, युनिसा कार्की, विदुरप्रसाद सिग्देल, सन्तोष सुवेदी, नरेन भट्टराई, रमेश बज्राचार्य, चक्रप्रसाद पोखरेल, उद्धव दंगाल, नितु घिमिरे, सुरेन्द्र क्षेत्री, सुरज आचार्य, रिजन थापालगायतका कलाकारको अभिनय छ ।

सन्तोष कार्की, उद्धव दंगाल, रेनुका कार्की, अविन ठटाल र कृषला श्रेष्ठले स्वराङ्कन गरेका छन् । मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको फिल्मको कला निर्देशन सुमित राईले गरेका छन् । सन्तोष श्रेष्ठको संगीत रहेको फिल्मको बाँसुरी वादकका रुपमा नगेन्द्र राई रहेका छन् । सहायक निर्देशन करण साउदले गरेका छन् । अनिलकुमार महर्जनको सम्पादन तथा रंग संयोजन रहेको छ ।

अभिलाषीले यसअघि निर्माण गरेका सर्ट पिःल्म ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’, र ‘द स्कूल वाल’ले विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्ड पनि प्राप्त गरेको थियो । उनी पछिल्लो समय नयाँ फिल्म निर्माणको तयारीमा रहेका छन् ।

Cinemax Hub

/ ताजा अपडेट /

/ सम्बन्धित समाचार /