The Cinemax Hub

वर्षाको ‘झिल्को’हेराउन शिक्षकको अभिभावकलाई सुझाव

Facebook
Twitter
WhatsApp

काठमाडौं : अभिनेत्री वर्षा सिवाकोटी अभिनित सिनेमा ‘झिल्को’को चर्चा छ। तर निर्माण टिमले प्रमोसन गर्न नसक्दा दर्शकमा उत्साह देखिदैन। डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित सिनेमा ‘झिल्को’ले पछिल्लो समयको यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको छ।


सिनेमाको विषयवस्तु विशेष गरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरुपयोग, र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक विखण्डनसँग जोडिएको छ। एक बालिकाको मुख्य भूमिकामा आयुषी ढकाललाई अभिनय गराइएको छ। यो सिनेमामा उनीसँगै सुनिल पोखरेल,वर्षा सिवाकोटी,विशाल पोखरेल,भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ ।


यो फिल्म हेर्न हलमा पुगेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याबसन)का केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले सिनेमा मन परेको बताए। उनले पत्रकारसँगको कुराकानीमा यो सिनेमाले सम्पूर्ण समाजको पीडा बोकेको प्रतिक्रिया दिए। उनले भने,‘एउटा परिवारभित्र एक सदस्यको कमी बुझाइ र अर्काको बहकाउमा लाग्दा कस्तो प्रकारको विघटन हुन्छ भन्ने कुरा चलचित्रले प्रभावकारी ढङ्गले देखाएको छ। अभिभावक र शिक्षक गम्भीर बन्न नसकेको अवस्था र त्यसले विद्यार्थीमा पार्ने असर, सीप र संस्कारसँग शिक्षालाई जोड्नु पर्ने आवश्यकता चलचित्रले स्पष्ट रूपमा प्रस्तुत गर्छ ।’
त्यसैगरी, प्याबसनका केन्द्रीय महासचिव आर.बि. कटुवालले पनि सिनेमाले आफुलाई छोएको बताए।
उनले भने,‘ बच्चाहरूको पहिलो पाठशाला विद्यालय होइन, घर हो । र, अभिभावक नै उनीहरूको पहिलो गुरु हुन् भन्ने गम्भीर सन्देश सिनेमाले दिएको छ।’
सिनेमा हेरेपछि पूर्व मुख्यसचिव भीम उपाध्याय पनि झिल्कोले डिजिटल प्रविधिको प्रभावमाथि गहिरो प्रश्न उठाएको टिप्पणी गरे। ‘प्रविधिलाई दोष मात्र दिँदा समस्या समाधान हुँदैन’,उनले भने,‘यसलाई स्विकार्दै समाधान खोज्नुपर्ने अवस्था आएको छ।’

‘झोला’ निर्देशन गरेर ख्याति कमाएका यादवकुमार भट्टराईद्वारा निर्देशित यस सिनेमालाई मिडिया फर कल्चर प्रा.लि.ले निर्माण गरेको हो। सिनेको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। सिनेमाको पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो। सिनेमाका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्। चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो।

thecinemaxhub

/ सम्बन्धित समाचार /