

बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । ट्रेलर युट्युबको मुभिज चाटतर्फ ट्रेन्डिङ नम्बर १ मा उक्लिएको हो ।
समाचार तयार पार्दासम्म ट्रेलरले करिब साढे ७ लाख भ्युज बटुलिसकेको छ भने एक हजारभन्दा बढी दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । दर्शकहरूले निर्देशक रामबाबु गुरुङ, काजीको भूमिकामा देखिएका दयाहाङ राई तथा नयाँ पात्रका रूपमा जोडिएका विपीन कार्कीको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका छन् ।
विशेषगरी, विपीन कार्कीको नयाँ अवतार हेर्न दर्शकहरू उत्साहित देखिएका छन् । ट्रेलरमा उनको भूमिकालाई लिएर दर्शकमा उत्सुकता बढेको देख्न सकिन्छ ।

यसरी छोटो समयमै ट्रेलरले दर्शकको ध्यान खिच्न सफल भएपछि ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ प्रति दर्शकको अपेक्षा र उत्सुकता बढेको देखिन्छ । ट्रेलरले पाएको प्रारम्भिक प्रतिक्रियाले पनि सिनेमाप्रति दर्शकको चासो बलियो रहेको संकेत गरेको छ ।
ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र उनको जीवनमा आउने नयाँ उतारचढावलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ सञ्चालन सुरु गरेपछि कथाले नयाँ मोड लिएको देखिन्छ । त्यस्तै, सिर्जना गुरुङको नयाँ मैयाका रूपमा प्रवेश, मिरुना मगर अर्थात् शान्ति मिसको झलक र विपीन कार्कीको दमदार इन्ट्री ट्रेलरका प्रमुख आकर्षण बनेको छ ।
हास्य, पारिवारिक उतारचढाव, सम्बन्धमा आउने ट्विस्ट र एक्सनलाई समेटिएको ट्रेलरले ‘कबड्डी’ शृङ्खलाको पुरानै स्वादसँगै नयाँपन दिने संकेत गरेको छ । विशेषगरी, ट्रेलरले काजीको जीवनमा आउने नयाँ परिस्थितिले कथालाई कुन दिशामा लैजान्छ भन्ने जिज्ञासा सिर्जना गरेको छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा यही असोज ३० गतेदेखि देशभर प्रदर्शन हुनेछ । सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ ।
सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।


















