The Cinemax Hub

सौगातलाई सत्ताईस वर्षपछि सरप्राइज

Facebook
Twitter
WhatsApp

काठमाडौं । यहीँ जेठ २६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘जार’का लेखक हुन् साहित्यकार इन्द्रबहादुर राई । उनको यो कृति अत्यत्नै चर्चामा रहेको थियो। हिजोको पुस्ताले खुबै पढेको यो कृति ‘जार’मा थुप्रै नाटकहरु पनि मञ्चन भएका छन्। अब यो कृतिमा आधारित रहेर फुर्वा छिरिङ लामाले आफ्नो निर्देशनमा फिल्म नै निर्माण गरेका छन्। जसमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन्।

यो सिनेमालाई लिएर अभिनेता मल्ल निकै उत्साहित देखिन्छन्। कारण हो उनलाई यस कृतिमा अभिनय गर्न दुई दशक अघि नै रहर लागेको रहेछ। उनले कथा ‘जार’ पढेपछि नै यसमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लागेको रहेछ। उनले हालै पत्रकारसँगको भेटमा सुनाए। सत्ताइस वर्षअघि नाटक ‘जार’ गुरुकुलमा नाटक हेरेका सौगातले आफुलाई पनि त्यो कथामा पात्रमा अभिनय गर्ने मौका खोजेको बताए।

उनले भने,‘म त्यो समयमा एउटा फिल्ममा फाइनल भइसकेको थिएँ । जसले गर्दा यो नाटकमा काम गर्न पाइनँ । तर नाटक पढ्ने मौका पाएँ । कुनै कुनै कथा, उपन्यासले मान्छेलाई दुई चारदिनसम्म सुत्ने वातावरण दिँदैन । मलाई पनि त्यस्तै भयो ।’

उनले थपे,‘जब यो कथा मैले पढेँ, त्यही बेला नै म यसमा नाटक बनाउँछु भन्ने थियो । त्यसबेला सिनेमाबारे त सोच्ने भइसकेको थिइनँ। त्यही सिनेमाका लागि दुई दशकपछि अफर आउँदा सरप्राइज भयो।’

उनले यो सिनेमामा मुख्य मात्रै होइन जुनसुकै रोलका लागि अफर आएको भए पनि आफू खेल्न तयार रहेको बताए। यद्यपि, मुख्य रोलका लागि नै अफर आएपछि झन धेरै खुसी भएको बताए।उनका अनुसार सिनेमामा उनले निर्वाह गरेको चरित्रबारे पुस्तकमा पढ्दा उनको जिउँमा काँडा नै उम्रिएको थियो।

उनले अतित फर्किएर भने,‘मैले कागबेनीको चरित्रपछि जारलाई संगालेर राखेको थिएँ। गुरुकुलमा इन्द्रबहादुर राई आउनुहुँदा जारमा नाटक गर्ने इच्छा छ भन्नुभएको थियो । त्यो बेला चरित्रको बारेमा कुराकानी पनि भएको थियो । तर मैले अरु सिनेमामा साइन गरिसकेको थिएँ। तर कुनै दिन जारकै कथामा सिनेमा बन्यो भने त्यो पात्र म निभाउँछु भन्ने प्रतिबद्धता जनाएँ।’

कालान्तरमा त्यसैबाट अफर आउनु सुखद् सयोग र भाग्यमानी दुवै भएको उनको भनाई छ। आफूले देखेको सपनामा काम गर्न पाएको उनी बताउँछन्। इन्द्रबहादुर राईको अर्को कथामा पनि काम गर्न मन लागेको उनले बताए।

उनी भप्छन्,‘कुन भनेर चाहिँ भन्दिनँ किन भने नभएससम्म हुँदैन, त्यसैले नभन्नु भन्छन्। त्यसैले अहिले यो भनेर भन्दिनँ । तर कुनै बेला काम भयो भने भन्नेछु।’
२७ वर्षअघि ‘जार’ पढ्दाको उत्साह अहिले सिनेमामा काम गरेर पुरा गरेकोमा सौगात खुशी छन्। चलचित्र ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो। सन् १८ सयको दशकमा भएको त्यो घटनालाई चरित्रमा उतार्नु निकै जोखिम र चुनौती निर्देशकलाई रहेको सौगात बताउँछन्।

उनी भन्छन्,‘त्यो बेलाको समाज, नियम, कानून, भाषा, परिवेशमा हामी बाँधिएका थियौं । हरेक हिसाबले मैले जोखिम मोलेको थिएँ । अझ अर्काको श्रीमति नै भगाउनुपर्दाको अवस्था झन कस्तो होला?’

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ। त्यसैले उनी यो सिनेमाले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।

यस सिनेमा सौगात मल्लका साथै अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापा मुख्य भूमिका रहेका छन्। होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको छायांकन सिक्किममा गरिएको हो। यसका कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। सरवानन इलावार्सुको छायांकन रहेको यस सिनेमामा अखिलेश राईको सम्पादन,झुमा लिम्बू र गंगा थापाको संगीत छ।

नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउन लागेको यस सिनेमालाई नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ।

thecinemaxhub

/ सम्बन्धित समाचार /