

काठमाडौं : मिलन चाम्सको निर्देशनमा बन्ने आगामी सिनेमाको लागि मुख्य अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। उनलाई निर्देशक चाम्सले बन्न लागेको सिनेमा ‘सुम्निमा’ का लागि अनुबन्ध गरेका हुन्।
प्रेमकथामा आधारित हुने यो सिनेमा नेपाली र अंग्रेजी भाषामा निर्माण हुने यो फिल्मका लागि अभिनेताको खोजी भइरहेको छ। उपसनाको जोडीको रुपमा काम गर्ने अभिनेताको लागी अडिसन आव्हान गरिएको निर्देशक चाम्सले जानकारी दिए। उनका अनुसार सुम्निमाको लागि २० देखि २६ वर्षको युकेमा रहेको व्यक्तिले अडिसनमा भाग लिन पाउने पनि बताईएको छ।
निर्देशक चाम्सले युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै फिल्म बन्ने बताए।
मिडियासँगको कुराकानीमा निर्देशक चाम्सले भने,‘ ‘कथावस्तु पनि युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै सिनेमा बन्नेछ।’

नेपाल र बेलायतमा यो फिल्म जुलाईदेखि छायांकन हुनेछ। चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा बन्ने सिनेमा निर्देशक चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ। यस सिनेमामा राजीव थापाको कथा र पटकथा रहनेछ।
कथा राम्रो भएको र टिम राम्रो हुने हुँदा ‘सुम्निमा’ उत्कृस्ट सिनेमा बन्नेमा चाम्स ढुक्क देखिएका छन्। सिनेमाका अन्य प्राविधिक र टिमको बारेमा पछि मात्र जानकारी दिने चाम्सले बताए। चाम्सको निर्देशनमा बनेको बायोपिक सिनेमा ‘अञ्जिला’ले सफल प्रदर्शनको ५१ औं दिन पार गरिसकेको छ।














