The Cinemax Hub

‘महाभोज’ प्रचारका लागि ‘सत्य कहिल्यै लुक्दैन’ भन्दै सडक नाटकमा

Facebook
Twitter
WhatsApp

काठमाडौं : यही जेठ १५ गते बिहीबार रिलिज हुने सिनेमा ‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै प्रचारमा विविधता ल्याएको छ । रिलिजको केही दिन मात्र बाँकी रहँदा सिनेमा यति बेला सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको हो।

शनिवार साँझ काठमाडौंको गोङ्गबुमा ‘सत्य कहिल्यै लुक्दैन – महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरी सयौँ दर्शकलाई सिनेमाको कथावस्तुबारे जानकारी गराइएको छ। सिनेमाका निर्माता अनुसार यो अभियान सिनेमा रिलिजसम्म काठमाडौंका विभिन्न स्थानहरूमा दैनिक रूपमा सञ्चालन हुनेछ।

सडक नाटकमा कलाकारहरूले प्रत्यक्ष अभिनयमार्फत सहकारी पीडित र पीडकबीचको कथालाई प्रस्तुत गरेका छन् । सिनेमाको मूल कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यो नाटकको निर्देशन आकाश नेपालीले गरेका हुन् भने लेखक सरिता कठायत हुन्। कलाकारहरूमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी छन्। नाटक व्यवस्थापन ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपालले गरेको थियो भने नाटक प्रस्तुति शुभआकाश टिमले गरेको हो।

दिनेश राउत निर्देशित ‘महाभोज’ सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने पीडादायी अवस्थालाई चित्रण गर्ने सिनेमा हो । यसमा पीडितको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेललाई समेटिएको छ ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख भूमिका रहेको यो चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो। निर्माता हिमाल कडरिया र लेखक विकास सुवेदी रहेको ‘महाभोज’ नेपालसँगै विदेशका केही मुलुकहरूमा एकसाथ रिलिज हुँदैछ।

thecinemaxhub

/ सम्बन्धित समाचार /