The Cinemax Hub

ओस्कर मनोनीत निर्देशक एरिक भ्यालीले गरे ‘ऊनको स्वीटर’को प्रशंसा

Facebook
Twitter
WhatsApp

काठमाडौं :

प्रसिद्ध फ्रेन्च फोटोग्राफर तथा निर्देशक एरिक भ्यालीले हालै नेपाल भ्रमणका क्रममा हेरेको नेपाली सिनेमा ‘ऊनको स्वीटर’ प्रति विशेष प्रतिक्रिया दिएका छन्। उनले यस सिनेमालाई नेपाली समाज र संस्कृतिको संवेदनशील र सशक्त प्रस्तुतिका रूपमा व्याख्या गरेका छन्।

एरिक भ्यालीले भने,‘म नेपाली चलचित्रको प्रगति हेरेर अत्यन्तै खुसी छु। मैले भर्खरै हेरेको चलचित्र ‘ऊनको स्वीटर’ ले परिवारको भित्री भावनासँगै संस्कृतिको कथा सुन्दर रूपमा भन्ने प्रयास गरेको छ। मैले धेरै नेपाली चलचित्रका स्क्रिप्टमा कमजोरी देख्ने गरेको थिएँ तर यस चलचित्रमा त्यो पाइनँ। यो निकै संवेदनशील र सुन्दर तरिकाले लेखिएको सिनेमा हो। यसमा दृश्यांकनदेखि कलाकारको अभिनयसम्म सबै पक्ष प्रशंसनीय छन्।’

भ्यालीले ‘ऊनको स्वीटर’ जस्ता सिनेमामार्फत नेपाली सिनेमाको अब नयाँ दृष्टिकोण र गहिरो विषयवस्तुमा प्रवेश गरिरहेको बताएका छन्। उनले भने,‘नेपालका नयाँ फिल्ममेकरहरू अबको नेपाली सिनेमाका प्रमुख आशा हुन् । ‘ऊनको स्वीटर’ जस्तै चलचित्रले यही सम्भावनालाई पुष्टि गर्छ।’

निर्देशक नवीन चौहानद्वारा निर्देशित ‘ऊनको स्वीटर’ पछिल्लो समय नेपाली सिनेमा बजारमा सफलताको शिखर चुमिरहेको फिल्म हो। विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई,सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलजस्ता कलाकारको अभिनयले सिनेमालाई जीवन्त बनाएको छ।

दर्शकहरूले कलाकारको दमदार अभिनय, यथार्थपरक संवाद शैली, र प्रभावशाली निर्देशनलाई सिनेमाको प्रमुख विशेषता मानेका छन्। सामाजिक सञ्जालमा स्वतन्त्र समीक्षकहरूबाट पनि सिनेमाले सकारात्मक चर्चा पाइरहेको छ। निर्माता संस्था आर्टमाण्डूले सिनेमाले प्रदर्शनको दुई हप्तामा मात्र ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जनाएको छ,जुन हालसम्म निकै माथि पुगेको अनुमान गरिएको छ।

एरिक भ्याली ः नेपालको सांस्कृतिक अध्ययनमा समर्पित नाम

एरिक भ्याली एक जना यस्ता विदेशी स्रष्टा हुन्, जसले नेपाललाई आफ्नो दोस्रो घरजस्तै मानेका छन्। १८ वर्षको उमेरमा अफगानिस्तान भ्रमणका क्रममा भिसा सकिएपछि भारत हुँदै नेपाल आएका उनी नेपालका अरुण,तमोर,डोल्पा, बझाङ र बाजुराजस्ता दुर्गम क्षेत्रको गहिरो अध्ययनमा लागे। नेपाली भाषा सिक्दै उनले यहाँको जीवनशैली,स्थानीय परम्परा र सांस्कृतिक विविधतालाई बुझ्ने प्रयास गरे।

उनको चर्चित चलचित्र ‘क्याराभान’ (१९९९)ले नेपालको डोल्पा क्षेत्रको जीवनशैली, प्राकृतिक सङ्घर्ष र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेको थियो। उक्त सिनेमाले ओस्करको ७२औँ संस्करणमा समेत मनोनयन प्राप्त गरेको थियो। भ्यालीको दृष्टिकोणमा नेपाल केवल प्राकृतिक सौन्दर्यको भूमि होइन, सांस्कृतिक गहिराइले भरिएको समाज हो।

‘ऊनको स्वीटर’ ले सिर्जना र संवेदनाको बलमा दर्शकमाझ स्थान बनाउँदै गरेको यस अवस्थालाई एरिक भ्यालीजस्ता अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वको प्रशंसाले थप विश्वसनीयता दिलाएको छ।

thecinemaxhub

/ सम्बन्धित समाचार /