

काठमाडौं । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको बलियो साथ पाउँदै गएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले काठमाडौंसहित पोखरा, बुटवल, झापा, चितवान लगायतका स्थानमा राम्रो दर्शक उपस्थिति जनाउँदै सकारात्मक माउथ पब्लिसिटी बनाउन सफल भएको निर्माण पक्षले जनाएको छ ।
पहिलो दिनको आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक भइनसके पनि फिल्मको ओपनिङ औसतभन्दा राम्रो रहेको बताइएको छ । तर ‘पेन्सन पट्टा’का लागि महत्वपूर्ण पक्ष दर्शकबाट प्राप्त भइरहेको सकारात्मक प्रतिक्रिया बनेको छ । सामाजिक सञ्जाल तथा दर्शक प्रतिक्रियामा फिल्मको कथा, प्रस्तुति, अभिनय र सामाजिक विषयवस्तुको प्रशंसा भइरहेको छ ।
शुक्रबारको प्रदर्शनपछि शनिबार फिल्मका शोसमेत बढेका छन् । खल्तीमा देखाइएको शो संख्या १०६ बाट बढेर ११३ पुगेको छ । आज शनिवार फिल्ममा दर्शकको साथ उलेख्य वृद्धि हुदैँ गएको छ । दर्शकको मागअनुसार शो वृद्धि हुनु फिल्मप्रति बढिरहेको चासोको संकेत बनेको छ ।
पोखरामा पनि फिल्मले पहिलो दिन उत्साहजनक व्यापार गरेको छ । क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजबाट मात्रै ७ लाख ४८ हजार रुपैयाँ ग्रस कलेक्सन गर्दै १ हजार ९ सय ३० दर्शकलाई हलमा तानेको छ । आज शनिबारका लागि दुवै हलमा राखिएका ५–५ शो हाउसफूल रहेको जनाइएको छ ।
फिल्म हेरेका दर्शकले ‘पेन्सन पट्टा’लाई पछिल्लो शुक्रवार प्रदर्शनमा आएका फिल्ममध्ये सशक्त सामाजिक कथामा आधारित हेर्नलायक फिल्मका रूपमा चर्चा गरेका छन् । परिवार र नेपाली समाजसँग प्रत्यक्ष जोडिएको विषयलाई मनोरञ्जनसँगै प्रस्तुत गरिएको भन्दै दर्शकले फिल्मको प्रशंसा गरेका छन् ।
शनिबार र आइतबारको बिदासँगै त्यसलगत्तै तीज पर्वसमेत रहेकाले आगामी दिनमा फिल्मले अझ ठूलो दर्शक वर्ग पाउने अपेक्षा निर्माण पक्षको छ । शुक्रबारदेखि फैलिरहेको सकारात्मक माउथ पब्लिसिटीलाई निरन्तरता दिन सके ‘पेन्सन पट्टा’को व्यापार थप बलियो बन्ने सम्भावना देखिएको छ ।
फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, वल्सन विक्रम राई, पुष्कर गुरुङ, सूरज तमु र माओत्से गुरुङलगायत कलाकारको अभिनय रहेको छ ।

















