

इटहरी/ सुन्दरता केवल बाहिरी आवरणमा मात्र सीमित हुँदैन, यो त महिलाको आत्मविश्वास, क्षमता र समाजप्रतिको दृष्टिकोणमा झल्किन्छ । यही यथार्थलाई प्रमाणित गर्दै कोशी प्रदेशका गृहिणीदेखि विभिन्न पेशामा आबद्ध व्यावसायिक महिलाहरू यतिबेला ‘मिसेस पूर्वेली आइकन’ को तेस्रो संस्करणको ताज पहिरिन प्रतिस्पर्धामा जुटेका छन् । ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको यस प्रतियोगिताले महिलाहरूलाई परम्परागत ‘ब्युटी पेजेन्ट’को घेराभन्दा बाहिर ल्याएर उनीहरूको वास्तविक क्षमता देखाउने सशक्त मञ्च प्रदान गरेको छ ।

यसै प्रतियोगिताअन्तर्गत ‘ट्यालेन्ट राउन्ड’ यही असोज ११ गते आइतबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सफलतापूर्वक सम्पन्न भएको छ । प्रतिभा प्रदर्शनको यस चरणमा मिस नेपालकी कोशी प्रदेश प्रमुख स्मित कार्की र नृत्यांगना प्रनिशा उदासले निर्णायकको भूमिका निर्वाह गरेका थिए । ट्यालेन्ट राउन्डको समाप्तिसँगै आयोजक टिम अब यही असोज १९ गते इटहरीकै प्रतिष्ठित सोल्टी वेस्टेन्ड होटलमा हुने ग्रान्ड फिनालेको भव्य तयारीमा जुटेको छ ।
यस पटक प्रतियोगितामा सहभागी १९ जना प्रतियोगीहरूको पृष्ठभूमि निकै विविधतापूर्ण र उत्साहजनक छ । उनीहरूको नाम र पेशालाई लिएर यसपटक निकै चर्चा भइरहेको छ । प्रतियोगितामा चिकित्सा क्षेत्रबाट इनरुवाकी डा. उरुषा शाह र विराटनगरकी फार्मासिस्ट संगिता शाह प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरी, बैंकिङ तथा कर्पोरेट क्षेत्रको बलियो प्रतिनिधित्व गर्दै धनकुटाकी बैंकर जमुना दाहाल, बिर्तामोडकी बैंकर ध्रुव कुमारी गुरुङ, विराटनगरबाट सानिमा लाइफ इन्स्योरेन्सकी शाखा प्रबन्धक भावना घिमिरे र बुढीगंगाकी कर्पोरेट अफिसर मनिका चौधरी ताजको दौडमा छन् ।

यस्तै शैक्षिक र सञ्चार क्षेत्रबाट पनि बलियो उपस्थिति छ । बेलबारीकी शिक्षिका अञ्जिला चौधरी, इटहरीकी यमुना महत, रामधुनीकी सोनी थापा तथा इटहरीकै शिक्षिका एवं सञ्चारकर्मी सिर्जना राउतले आफ्नो प्रतिभा र्याम्पमा पस्कनेछन् । त्यस्तै, व्यवसाय र उद्यमशीलतामा रमेका महिलाहरूको पनि उल्लेखनीय सहभागिता रहेको छ । इटहरीकी व्यवसायी अलिसा धिमाल र लुइशा पुडासैनी, ‘किङ्ग्स एन्ड क्विन्स फेसन वेयर’की सञ्चालिका सुषमा राई श्रेष्ठ, मोरङ ग्रामथानबाट ‘ग्रामथान कलेक्सन’की स्वस्तिका चौधरी, इटहरीस्थित ‘ससुरालीको अचार’की प्रोप्राइटर शोभा राउत र बेलबारीकी महिला उद्यमी कुमारी थापाले उपाधिका लागि कडा टक्कर दिनेछन् ।

यसैगरी, सौन्दर्य कला र गृह व्यवस्थापनमा अब्बल इटहरीका गृहिणी अनुपा दङ्गाल, गृहिणी तथा ब्युटिसियन वर्षा गजमेर र गोठगाउँ मोरङकी ब्युटिसियन सीता वन श्रेष्ठ पनि अन्तिम १९ को प्रतिस्पर्धामा आफूलाई खरो उतार्दैछन् । आयोजकका अनुसार यस प्रतियोगितामा प्रतियोगीहरूको शारीरिक सौन्दर्यलाई भन्दा पनि उनीहरूको प्रस्तुति, व्यक्तित्व, आत्मविश्वास, अन्तरनिहित प्रतिभा र सामाजिक दृष्टिकोणको सूक्ष्म मूल्यांकन गरेर मात्र विजेता घोषणा गरिनेछ । यस तेस्रो संस्करणको सबैभन्दा विशेष आकर्षण प्रतियोगीहरूको ‘भिडियो डकुमेन्ट्री’ बनेको छ ।
प्रतियोगीहरू केवल सजिएर र्याम्पमा प्रस्तुत मात्र हुने छैनन्, उनीहरूको व्यक्तिगत जीवन, पेशागत संघर्ष, उपलब्धि, रुचि र समाजमा पुर्याएको योगदानलाई समेत भिडियोमार्फत दर्शकमाझ ल्याइनेछ । यस बृहत् कार्यक्रमलाई सफल बनाउन आयोजक संस्थाका म्यानेजिङ डाइरेक्टर तथा इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठको नेतृत्वमा सिइओ सजिना श्रेष्ठ, कोरियोग्राफर सुभेच्छा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ र फोटो तथा भिडियोग्राफर निश्चल श्रेष्ठको टिम अहोरात्र खटिरहेको छ । असोज १९ को फिनालेमा यी १९ साहसी र प्रतिभावान महिलामध्ये कसले ‘मिसेस पूर्वेली आइकन’को ताज पहिरिने हुन्, त्यो भने प्रतीक्षाको विषय बनेको छ ।
















