The Cinemax Hub

पाँच दिनमै २३ लाख बढी भ्युज, ‘सिन्दुरे जात्रा’को ‘बाँसैको सुप्लाखे’ गीत चर्चामा

Facebook
Twitter
WhatsApp

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को सार्वजनिक गीत ‘बाँसैको सुप्लाखे’ले दर्शकको राम्रो साथ पाइरहेको छ। गीत सार्वजनिक भएको पाँच दिनमै युट्युबमा २३ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ। गीत हेर्ने दर्शकले यसको शब्द, संगीत र भिडियोको प्रशंसा गर्दै चलचित्रप्रति उत्सुकता व्यक्त गरिरहेका छन्।

प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा सुरज गैरे विवशको शब्द तथा प्रशान्त सिवाकोटी स्वयंको संगीत रहेको छ। प्रेमिल जोडीको भावनालाई प्रस्तुत गरिएको गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासनलाई सुन्दर ढंगले समेटिएको छ। प्रेममा रहेका युवा–युवतीले इसारैइसारामा व्यक्त गर्ने मनका भाव गीतमा प्रस्तुत गरिएको छ।

युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको गीत टिकटकमा पनि उत्तिकै लोकप्रिय बनेको छ। हालसम्म २० हजारभन्दा बढी टिकटक भिडियोमा यो गीत प्रयोग भइसकेको छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विजय बराल र अञ्जना बराइली देखिएका छन्। उनीहरूको नृत्यलाई समेत दर्शकले रुचाएका छन्।

सरोज पौडेलको निर्देशनमा निर्माण भएको ‘सिन्दुरे जात्रा’मा विजय बराल र अञ्जना बराइलीको जोडीलाई पुनः एकसाथ देख्न सकिनेछ। नेपाली चलचित्रको बक्सअफिसमा सफल मानिएको यो जोडीको यो दोस्रो सहकार्य हो। यसअघि उनीहरूले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल चलचित्रमध्ये एक ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक सरोज पौडेल स्वयंको हो। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता रहेका छन्। अनिश अधिकारीले लाइन निर्माताको जिम्मेवारी सम्हालेका छन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन्।

चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु) को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ।

आगामी मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ। बिग मुभिज थिएटर पार्टनर तथा ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन्।

Kumar Acharya

/ सम्बन्धित समाचार /