

आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर मंगलवार काठमाडौंमा एक कार्यक्रमगर्दै सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल मार्फत ट्रेलर सार्वजनिक गरिएको हो।
वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन्। दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको यस चलचित्रलाई लिएर लामो समयदेखि व्यापक चर्चा भइरहेको छ। निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन्। ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन्। यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए।

चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। निर्माता भुसालले नै यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको छायांकन रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्।















