The Cinemax Hub

नातिकाजी राष्ट्रिय संगीत पुरस्कार एवम् सम्मान घोषणा

Facebook
Twitter
WhatsApp

काठमाडौं । संगीत महर्षी नातिकाजीको नाममा स्थापित ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार– २०८०’को घोषणा गरिएको छ । नातिकाजीको १०० औं जन्म जयन्तीको अबसर पारेर नातिकाजी स्मृति समाजले बुधबार सो सम्मान एवम् पुरस्कारको घोषणा गरेको हो ।

कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष एवम् संगीत रत्न शम्भुजीत बासकोटाले पुरस्कृत एवम् सम्मानितलाई बधाई ज्ञापन गर्दै नेपाली सुगम संगीतमा नातिकाजीको योगदानबारे चर्चा गरे । समाजका उपाध्यक्ष दिपक श्रेष्ठले नातिकाजी पुरस्कार एवम् सम्मानबाट सम्मानितहरुको नाम कार्यक्रममा सार्वजनिक गरे । यो पुरस्कार एवम् सम्मान चाँडै नै राष्ट्रपतिबाट प्रदान गरिने भएको छ ।

यसरी नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०८० बाट सम्मानित हुनेहरुमा गीतकार नगेन्द्र थापा, लोक गायक बोमबहादुर कार्की, संगीत प्रवर्धक प्रकाश सायमी, शास्त्रीय संगीतकार ज्ञानुराधा गोर्खाली, गीतकार बुद्धवीर लामा, गीतकार किरण केसी ’क्रोधी’, गायक दिवाकर खड्का, सञ्चारकर्मी धन लामा र गायिका यशोद पराजुली रहेका छन् । यस्तै नातिकाजी राष्ट्रिय योगदान सम्मानबाट इटहरीको संगीत साधना प्रतिष्ठान र लेखक विमल भौकाजीलाई सम्मानित गरिने भएको छ ।

यस्तै नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०८० बाट गायक हिमाल सागर, गायिका बिन्दु परियार, गीतकार वि. पाण्डे, संगीतकार आशिष अविरल (खिमबहादुर गौतम) र संगीत संयोजक सम्राट थापालाई पुरस्कृत गरिने भएको छ । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट गायक डेभिड शँकर, गायिका स्मिता दाहाल, संगीतकार कल्याण सिंह र रेकर्डिष्ट भोला पौडेललाई पुरस्कृत गरिने भएको छ भने नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०८० संगीतकार रमेश पोखरेललाई, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०८० लोक गायकद्धय रामप्रसाद अवस्थी, कृष्ण वि।क र लोक गायिका सुष्मा शाही ठकुरीलाई प्रदान गरिने भएको छ ।

यस्तै २०८० सालको नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट पत्रकार सुशील अर्याल र सुकृत नेपाल नेपाललाई पुरस्कृत गरिने भएको छ । यी सबै पुरस्कारको राशी जनही ११ हजार १११ रुपैयाँ रहेको छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /