The Cinemax Hub

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

Facebook
Twitter
WhatsApp

कर्णाली । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ। रेड चेरीको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सव फागुन २५ र २६ गते कर्णालीमा सम्पन्न हुनेछ।

महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन्। विशेष अतिथिका रूपमा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती साही, पूर्वमन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का, तथा चलचित्र ‘पुजार सार्की’ का लेखक विकास सुवेदी उपस्थित थिए।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले कर्णालीलाई फिल्म पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। यस अवसरमा विकास सुवेदीको निर्देशनमा बन्न लागेको ‘२६ करोड’ नामक फिल्मको कर्णालीमै छायांकन गर्ने औपचारिक सम्झौता समेत गरियो।

महोत्सवअन्तर्गत भोली गुराँस गाउँपालिकामा ‘गुराँस चलचित्र संवाद’ कार्यक्रम आयोजना गरिँदैछ। यस संवादमा कर्णाली प्रदेशमा फिल्मको भविष्य, स्थानीय कथावस्तुको सम्भावना, र क्षेत्रीय चलचित्र विकासका विषयमा छलफल गरिनेछ।

महोत्सवले कर्णालीलाई नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रका लागि प्रमुख छायांकन स्थलका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कर्णालीका मौलिक कथा, प्राकृतिक सौन्दर्य, र सांस्कृतिक धरोहरलाई नेपाली चलचित्रमा समेट्न विशेष पहल गरिने आयोजकको दाबी छ ।

Cinemax Hub

/ सम्बन्धित समाचार /